१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

छाउपडी प्रथा अन्त्यका लागि किताब होइन कुसंस्कारको भ्रम च्यात्ने अभियान जरुरी


-केशबी जोशी

पछिल्लो समय मध्य तथा सुदुरपश्चिममा संस्कारको रुपमा स्थापित कुसंस्कार अर्थात छाउपडी प्रथा धेरै बहसको विषय बन्यो । करिब ५ महिना अगाडि अछाममा छाउगोठमा एउटा किसोरीको मृत्यु भए पछि छाउपडी प्रथा चर्काे बहसको विषय बन्यो । बर्खे भेल जस्तै बेलाबेलामा उठ्ने र सेलाउदै जाने छाउपडिको बहस यति बेला पनि त्यस्तै भयो । सरकारले छाउगोठ त भत्कायो तर महिनाबारी भएका महिलालाई संरक्षण भने दिन सकेको छैन् ।

यसै बीच निकै आलोचना र भाइरल भए नेकपाका दुई सांसदका भनाई । नेकपाका सांसद यासोदा सुवेदीले छाउगोठभन्दा पहिला स्वस्थानी र श्रिषिपञ्चमीका पाना च्यात्नुपर्छ भनिन् । सामाजिक सञ्जालमा उनको समर्थन भन्दा विरोध बढि भयो । सासंसद सुवेदीले छाउपडि प्रथा कायम रहनुका कारणबारे गहन अध्ययन गरेर नै यस्तो निस्कर्षमा पुगेको भन्न सकिन्न । किन भने यस्ता किताबले छाउपडि प्रथामा मलजल गर्ने काम अवश्य गरेकाछन् । तर, छाउपडि प्रथा हट्न नसकेको प्रमुख कारण भने होईनन् । जहाँको जीवन गास, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता आभारभुत आवश्यकताबाट नै बिमुख छ, त्यहाँ यस्ता किताब च्यातेर पनि कुनै असर पर्दैन् । यस्ता किताबहरु आफै पढेर त्यसको बिश्लेषण आफै गरेर व्यवहारमा उत्तार्न सक्ने बनाउने अभियानको आवश्यकता छ ।

अर्काे बिषय नेकपाकै सासंद गजेन्द्रबाहादुर महतले छाउगोठ भत्काउने गृह मन्त्रालयको अभियानप्रति जनाएको आपत्ति हो । जुन संचार माध्यम र सबैकालागि हास्यासपद बिषय बनेको छ । उनले सत्यता बोलेका हुन, तर, भन्न खोजेको कुराको शैली मिलेको छैन् । जहाँका जनता नुन, तेल लगाएतका खाध्यान्न र सामान्य औषधि जस्ता आधारभुत आवश्यकता संग जुधिराखेका छन् । सामान्य रुघा खोकिबाट १०–१५ जनाको मृत्युलाई सामान्य मान्छ सरकार । अर्थात अनिमात्र औषधिको पोको बाधेर देशको राजधानीबाट मध्य र सुदुरपश्चिम लम्कन्छ सरकार । त्यस्तै शिक्षा, चेतनाको स्थर शुन्य छ । प्रकिृतीका कारण हिमाली जिल्लाहरुमा प्राय ४ महिना स्कुल बन्द हुन्छन्, त्यसले बिद्यार्थीलाई कति असर पर्छ, त्यसको विकल्प खै । सरकारले छाउगोठ भत्काउदा त्यसको विकल्पका बारेका गरेको गृहकार्य वा अध्ययन खै । सासंद महतले भन्न खोजेका कुरा यिनै थिए । भलै उनले भन्न खोजेका शब्द र शैलि फरक थिए ।

सरकारले थालेको छाउगोठ भत्काउने अभियान प्रति आपत्ति हैन । तर सरकारले छाउगोठ भत्काउदा त्यसको असरका बारेमा गृहकार्य गरेन भन्ने मात्र हो । उसो त, सरकारले यो धेरै पहिला गरिसक्नु पर्ने अभियान हो । अहिले जुम्लामा धामी र पण्डितलाई नै छाउपडि हटाउनका लागि सदभावना दुत बनाउने जुन अभियान थालेको छ । यो एकदमै घत लाग्दो छ । प्राय मध्य र सुदुरपश्चिमको समाज यिनै दुई जनाले चलाएका छन् । जहाँ यिनीहरुको बोलीले महत्व राख्द छ । यस्तै अभियानको थालनी संगै सरकारले छाउगोठ भत्काउने अभियान अगाडि बढाउनु पथर्याे तर त्यसो भएन र सासंद महत जस्तै त्यहाँका अरु चेतना भएका जनताले पनि सजिलो गरी सरकारको साथ दिन मानिराखेका छैनन् । सरकारले अझैपनि त्यसका लागि गृहकार्य अगाडि बढाउनु पर्ने देखिन्छ । मध्य र सुदुरपश्चिमको समाज, त्यहाँको चेतनास्तर, पहुच आदिका बारेमा अध्ययन गर्नु पर्ने देखिन्छ ।

समाज
छाउगोठमा भाइबुहारीको मृत्यु भएपछि अछामका छत्र रावतलाई अदालतले ४५ दिनको कैद फैसला सुनायो । उनलाई छाउगोठमा बस्न बाध्य पारेको भन्दै अछाम अदालतको उत्त पैसला गरे संगै मध्य र सुदुरपश्चिमको समाजमा केहि डर र त्रास छाएको छ । देउताको डर ठुलो कि सरकारको भन्ने खासखुस पनि चलेको छ । अहिले सम्म करिब ३ हजार ५ सय भन्दा बढी छाउगोठ भत्काइएका छन् । तर, कतिले घरमा सुतन पाए भन्ने विषय भने गौण छ ।

मध्य तथा सुदूरपश्चिमका जिल्लाहरुमा छाउपडिलाई धर्म र देवता संग मात्र नभएर इज्जत र संसकार संग पनि जोडिएको छ । सरकारको डरका कारण भत्किएका गोठहरु फेरि बन्न सकेका छैनन्, तर, छाउपडि बार्ने नाममा महिलाहरु झन असुरक्षित स्थानमा बस्न थालेका छन् । महिनाबारीको समय जस्ले जति कष्ट गर्न सक्छ उक्त परिवारको त्यति नै ठुलो ईज्जत हुन्छ भन्ने भ्रमले अझै छोड्न सकेको छैन् । जति सुखै शिक्षित भए पनि महिला वा पुरुष दुवैले यो डर निकाल्न सकेका छैनन् । एउटा समाजको डर अनि अर्को देउताको डर, र, यति बेला थपिएको तेस्रो डर हो सरकारको । त्यहाँका महिलाको अवस्था सरकारको डरले अहिले झनै कष्टकर बनाई दिएको छ । त्यसैको उपजहो जनप्रतिनिधि दिउसो छाउगोठ भत्काउने र राति आफै छाउगोठमा सुत्न गएका समाचारहरु बाहिर आउनु ।

गाउँका महिलाहरु महिनाबारी भए नभएको र नहुनुका कारण समेत पत्ता लगाउने समाजले यति सजिलै छाउपडि प्रथा हट्न दिन्छ भन्नेमा विश्वस्त हुन सकिने देखिदैन् । काले काले मिलेर खाआंै भाले भनेजस्तै कसैको मृत्यु भए वा सर्फले टोके पछिमात्र बाहिर आउने यस्ता समाचार दबाउने कोसिस पक्कै हुने छ । त्यसका लागि समाजका अगुवा र समाजमा प्रभुत्वा जमाएका धामी र पण्डितहरुलाई समेत निगरानीमा राख्नुपर्ने देखिन्छ । महिलाहरु संग हिंसा र यातना सहनुको विकल्प छैन् । परिवार कति सम्म निर्दैई छ भन्ने कुरा साउलाले छाएर महिनावारी बारिरहेकि सुर्खेतकी महिलाको अवस्थाले बताउँछ । परिवारले त देउता रिसाउनु भन्दा छोरी बुहारी मर्नु बेस मानेको छ । यति बेला उनीहरुको भरौसा भनेकै सरकार हो । सरकारले दरिलो खम्बाको रुपमा काम गर्न सक्यो भने छाउगोठ प्रर्था हट्न धेरै समय लाग्दैन् ।

परिवर्तनका सम्वाहक (महिला)
अब हामी आफै उठ्नु पर्छ, जुरमुराउनु पर्छ, बरबराउनु पर्छ । छाउगोठमा सुत्दिन भन्न सक्नु पर्छ । साच्चै देउता छाउ नबार्दा रिसाउ छ भने छाउ गोठमा सर्पले टोक्दा र निस्सासिदा किन बचाउदैन ? छाउगोठमा बलात्कार हुदा किन देउता बचाउदैन् ? के देउता पनि छाउपडिको बेला छुदैन ? के यस्ता देउता मध्य र सुदुरपश्चिममा मात्र छन् ? यस्ता प्रश्नको उत्तर त्यहि समाज र गाउँबाट हामी आफैले खोज्न जरुरी छ ।
महिलाहरु नै छाउपडि विरुद्घ जान चाहाँदैनन भन्ने सोच बाहिर आएपछि पंतिकारले केहि साक्षर, शिक्षित र अशिक्षित महिलाहरु संग कुरा गरेको थियो । त्यस क्षेत्रका महिलाहरु परिवर्तन चाहान्छन् । समाज र परिवारका विरुद्घ जान भने सक्दैनन् ।

अछाम कि साक्षर मनमाया विष्टलाई पनि उस्तै सकस छ । “घरका छोरा मान्छे सबै पढे कै छन् । उनीहरु केहि बोल्दैनन् । आमा (सासु) ंअन्घविश्वासमा बढि विश्वास राख्नुहुन्छ । हामिले नमानि सुखै छैन् । ” उनले भनिन् “छाउ बार्न छाउगोठ भत्किए पछि गाई, भैशींको गोठमा बस्ने गरेका छौं । धन्न, अरुले जस्तो पाल, ओडार, डोको जस्ता ठाँउमा बस्नु परेको त छैन् ।” सरकारले यसै गरि केहि बर्ष सम्म कारवाहि गर्दै गए छाउपडि पुरै नहटे पनि परिवर्तन आउनेमा भने उनि ढुक्क छिन् ।

त्यस्तै, कक्षा १० मा अध्ययनरत सुर्खे त कि निर्मला बुढा भन्छिन “ महिनाबारीको समय आयो कि पहिले कसरी चार रात काट्ने भन्ने हुन्थो, अहिले कहाँ सुत्ने भन्ने पिर पर्छ, टाउको दुखेर आउछ ।” उनले थपिन “सरकारले जे गर्दै छ राम्रै गर्दै छ । तर, सरकारले छाउगोठ भत्के पछिको हाम्रो अवस्था किन हेर्दैन ?”

महिनावारी भएको बेला घरलाई नछुनेमात्र हैन, घरको आगन समेत टेक्न हुदैन भन्ने मानसिकता रहेको समाजमा छाउगोठ भत्कायो भन्दैमा घर भित्रै बस्न खोज्लान वा देलान् ? यो आफैमा एक जटिल प्रश्न छ । कि न भने प्राय जसो महिनावारी हुने उमेरका महिला कसै न कसैको अधिनमा रहेका हुन्छन् । महिनावारी हुने उमेर भनेको १४ देखि ५० बर्षका महिलाहरुको हुन्छ । त्यसमा छाउगोठ छोडेर घरमा सुत्न खोज्ने महिलाको उमेर लगभग २० देखि ३५ बर्ष सम्मको छ । तर, घरमा उनीहरु बुवा आमा वा सासु ससुराको चलनमा चलेका हुन्छन् र उनीहरुको केहि सिप लाग्दैन् । यहि उमेरका महिलाहरु परिवर्तनका बाहक हुन । उनीहरुलाई सम्झाउन सकिन्छ ।

“छाउगोठ भत्काए पछिको सकस झनै ठुलो छ ।” दैलेख कि २८ बर्षिया हरिमाया बुढाले भनिन् “यस्तो चिसोमा छाउगोठ भत्किए, पर सरेपछि कहा“ बस्नु, घर भित्र बस्न न त मनले दिन्छ, न त परिवार र समाजले” उनले भनिन् देउताको डर भन्दा पनि समाजको डर छ । एकचोटी पर सरेको बेला घरभित्र पसेर हेर्ने बिचार त छ तर देउताको भन्दा समाजको ठुलो डर लाग्छ । यो यमेर समुहका महिला परिवर्तन चाहाँन्छन् भन्ने कुरा हरिमायाले प्रष्ट पारेकि छन् ।

अनि अर्काे तर्फ ३६ देखि ५० बर्ष उमेरका महिलाहरु परिवर्तन चाहाँदैनन् । किन कि उनीहरु पुरै पुरातन सोचले भरिएका हुन्छन् । उनीहरुले छाउपडिलाई संस्कार बनाईसकेका हुन्छन् । उनीहरुमा देउताको डर का साथै समाजमा इज्जत जाने त्रास रहेको हुन्छ । यो कुप्रथा मध्य र सुदुर पश्चिमका जिल्लाहरुमा संस्कारको रुप स्थापित भैसकेको छ । र, संस्कारलाई हटाउनका लागि मन देखि नै हटाउन सक्नु पर्छ ।

पुरुषको भुमिका
“उठ्नसु, जाग्नुस, सरकार जागेको बेला, तपाई पनि सरकार संग सहकार्य गर्न अघि बढ्नुस । छाउपडि प्रथाको विरुद्घमा आवाज उठेको बेला तपाई मौन बस्नु हुदैन । यसले शिक्षा र चेतनाको उपहास गर्ने छ । महिलामा शिक्षा र चेतनाको कमि छ तर तपाईहरुमा त छाउपडि विरुद्घ आवाज उठाउने र हटाउने बौद्घिक शक्ति छ । यहि समय हो यसको सदुपयोग गर्ने । दिदी बहिनी, श्रीमती र बुहारीले छाउपडि बार्नु पर्दाको यातनाले के तपाईको मन दुख्दैन ? के उनीहरुप्रति माया र सदभाव छैन् ? तपाइको बोलीको मानयता राख्दछ समाज” अहिले मध्य र सुदुर पश्चिमका महिलाहरुले पुरुषहरुलाई उठाउनु नसकेको आवज हो यो ।

उसो त महिलाका कारण नै महिला बढि पिडित हुने गरेका छन् । छाउपडि बार्ने हरेक नियमको पालना एक महिलाले अर्काे महिलालाई (आमाले छोरीलाई र सासुले बुहारीलाई ) गराउने चलन छ । तर, नियम (कति दिन बार्ने, के गर्ने, के नगर्ने) बनाउने काम भने बुवा वा ससुराको हुने गर्छ । छाउपडि प्रथा पनि पृत्रिसत्तात्मक उपज हो । जहाँ सजिलोलागि बनाइएको प्रथा नै महिलालागि अभिसाप बन्दिएको छ । शैक्षिक र आर्थिक रुपले कम्जोर भए पछि महिलाहरुले महिनावारीलाई आफ्नो इज्त संग जोड्न पुगे । अझै पनि त्यहाँका महिलाले जति कठोर भएर रज्वसला बार्न सके त्यति नै शक्तिशाली छु भन्ने भ्रममा बाँचेका छन् । पुरुषले भनेको हरेक वाक्यको सम्मान गर्छ परिवार, तर समाजमा उ बोल्न डराउछ । एउटा कारण उस्ले त्यस्तो पिडा भोगेको छैन्, दोस्रो समाजबाट बहिष्कार हुने डर छ र तेस्रो पुरातन सोचले भरिएको छ । उस्ले कहिले सोच्दैन कि महिलाले रजस्वला भएको बेला अछुतको व्यवहार, मर्नु पर्ने हो कि भन्ने डर र अर्काेतिर त्यहि समाजको यौन पिपासुको शिकार हुनुपर्दाको अवस्था कति दयनिय होला ? यस्ता मानसिक तनाव र समस्याबारे पुरुषले कहिले सुनिदिने ?

सरकार र कानुन
सुदुर पश्चिमा एउटा उखान छ । लातको भुत बातले मान्दैन । त्यस्तै, छाउपडि प्रथामा चुर्लम्म डुबेको मध्य र सुदुर पश्चिमको समाज कानुनको डरले केहि लरखराएको छ । छाउगोठ भत्काए पछि पनि छाउबारीरहेका महिलाका परिवारको मुलीलाई कानुनी लातले हान्नै पर्छ । र, त्यो सुरु भैसकेको छ । त्यपछि मात्र छाउगोठ छोडिएका छन् र केहि परिवर्तन देखिन थालेको छ । यदि, साच्चै सरकारले छाउपडि प्रथा नै उनमुलन गर्ने हो भने कारबाही र चासो लामो समय जारी राख्नु पर्ने देखिन्छ ।

सदियौं देखि चलिआएको यो कुप्रर्थाले त्यहाँको समाजमा गहिरो प्रभाव पोरेको छ । सरकारले खोजे जस्तो चम्तकारीक रुपमा छाउपडि प्रथा हट्ने देखिदैन् । सती प्रथा र देउकी प्रथा हटाए जसरी छाउपडि प्रथा हटाउन सजिलो छैन् । छाउगोठ प्रथा भने हटाउन अवश्य सकिन्छ । किन भने घरबाहिर देखिने ब्यवहारलाई जति सजिलै बुझ्न, देख्न र सुन्न सकिन्छ त्यति नै गाहृो घर भित्रको कुरालाई बुझ्न, देख्न र सुन्नका लागि हुन्छ । जुन कुरा कसैले देख्दैन त्यस्तो कुरामा सरकारले पनि केहि गर्न सक्दैन् । छाउपडि प्रथा अत्यन्त शिक्षित र सभ्य भनिएको राजधानी तथा देशका ठुला सहरका पढालेखा जागिरवाला महिलामा समेत छ । अझ भन्ने हो यस्ता अत्यन्त शिक्षित र सभ्य भनिने महिला छाउपडि प्रथा उन्मुलनका लागि काम गर्ने वा वहस गर्ने र आफु रजस्वला हुँदा भान्सा र पूजाकोठा मात्र नभएर घरका पुरुषलाई समेत छुदैनन् । र, त्यहाँ सरकारले केहि गर्न सक्दैनन्, किन कि त्यहाँ प्रमाण भेटिदैन् । त्यसैले पुर्ण रुपमा छाउपडि हटाउन अझै केहि समय लाग्ने छ । छाउगोठ भत्काउन जस्तो सजिलो गरी मनको त्रास भत्काउन सकिदैन् । छाउगोठ बाट घरमा बस्ने वातावरण मात्रै बनाउन सक्यो भने पनि महिलाहरुले भोगिरहेको याताना र हिंसामा कमि आउने थियो ।

त्यसका लागि सरकारले केहि कार्यशैलि अपनाउनु पर्ने देखिन्छ भने संचारमाध्यमको सहकार्य पनि उत्तिकै अपरिहार्य रहन्छ । किन कि समाजले त्यस्ता कुराहरुलाई दबाउने कोसिस गर्ने गर्छ । छाउगोठ भत्काउने काम मात्रै सरकारको हैन् । छाउगोठ भत्काए पछि त्यसक्षेत्रका महिलाहरु रजस्वलाको समयमा कहाँ र कसरी बसेका छन् भन्ने बारेमा जानकरी राख्ने काम पनि सरकारको हो । छाउगोठ भत्के पछि महिलाहरु पाल, ओडार र साउला (पात) को वार भित्र जस्ता असुरक्षित ठाउमाँ सुत्ने गरेको र गाई भैंशीको गोठमा समेत बस्ने गरेको खबरहरु बाहिर आएका छन् । यदि त्यस्तो हो भने त्यसले झन असुरक्षित र संक्रमण हुने खतरा रहन्छ । त्यसलाई सरकारले कसरी हटाउने । किन कि यो छाउगोठ भत्काउन जस्तो सजिलो हुने छैन् । त्यसैले अहिलेको प्राथमिकता भनेको छाउगोठबाट घरमा मात्र सुत्न सक्ने वातावरण बनाउनु हो ।

र, अन्तमा
जसले जे भने पनि, परिवर्तन हामी आफैबाट हुनु पर्छ । मध्य तथा सुदुरपश्चिमबासि परिवर्तनका सम्बाहक बनांै । जहिले पनि सरकारले हाम्रा मुद्घा उठाएन, बजेट र बिकासका योजना ल्याएन, हरेक क्षेत्रमा पछाडि पारियो भनेर आलोचना मात्र कति गर्ने ? हाम्रो क्षेत्रका कुप्रथा र कुसंस्कारहरु हटाउने अभियानमा लाागेको सरकार संग एकजुट हौं । शिक्षा र चेतनाको उज्यालो छर्नतिर लागौं । दिदी बहिनी, आमा र श्रीमतीलाई छाउगोठमा बस्नु पर्ने वा बार्नु पर्ने बाध्यताबाट बाहिर निकालौ । हेक्का राख्नु पर्ने कुरा के छ भने जब सम्म हामी कुप्रथा र कुसंस्कारबाट बाहिर निस्कन सक्दैनौ राज्यबाट उपेक्षित भैरहनेछौं ।

सरकारले छाउगोठ भत्काउने जुन कार्य अघि सारेको छ यो एउटा साहसिक कार्य हो र यस्लाई अझ तिब्र रुपमा अगाडि बढाउनु पर्ने देखिन्छ । तर, छाउगोठ भत्काइए पछिको अवस्था पछि सरकार किन मौन छ । महिनावारीको बेला आफू असुरक्षित भए भन्ने त्रासमा महिलाहरु रहे भने मानसिक रोगले समेत समात्ने छ । उसै पनि मानसिक रोग मध्य र सुदुर पश्चिमका महिलामा बढि देखिएको चिकित्तसकहरुको भनाई छ । त्यसका बारेमा सरकारको चासो रहेको देखिदैन् । उसले छाउगोठ भत्काए पछि आफ्नो काम सकिएको जस्तो गरिरहेको छ । छाउगोठबाट घरमा सुत्न सक्ने वातावरण मात्रै बनाउन सके पनि मध्य र सुदुर पश्चिमका महिलाले राहत पाउथे । छाउपडि प्रथा हटाउन कठिन अवश्य छ तर अशम्भव छैन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार ०७:५२