१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

कोटेश्वर–कलङ्की सडकखण्डमा सवारीलाई नयाँ नियम


२७ फागुन, काठमाडाैँ । ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्ने सवारीसाधनलाई सडकको बाँया तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।

“फराकिलो सडक र तीव्र गतिसँगै उक्त सडकमा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्नका लागि उक्त नियम लागू गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो । महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्यविनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ ।

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिनुभयो । महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार २२:२५