८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अष्ट्रेलियाको एडिलेडमा मनाइयो होली (फाेटाेफिचर)


२७ फागुन, एडिलेड । हिन्दुहरुकाे महत्त्वपूर्ण पर्व हाेली अष्ट्रेलियाको एडिलेडमा पनि मनाइएको छ । खासगरी पछिल्लो समयमा नेपालीहरुको उपस्थिति बढ्दै गए पछि विभिन्न पर्वहरु धुमधाम सग मनाउन थालिएको छ । एडिलेडमा बिगत तीन बर्ष देखि होली पर्बलाइ बिशेष बनाउने गरि नेपाली कलाकारकाे उपस्थितिमा कार्यक्रम हुदै अाएकाे छ ।

हिन्दु धर्मग्रन्थमा अनुसार कश्यप ऋषीकी पुत्री, असुर हिरण्यकश्यपकी बहिनी थिइन होलिका । विष्णु पुराणमा उल्लेखीत कथाअनुसार होलिकालाई आगोमा नजल्ने बरदान थियो । यता हिरण्यकश्यप भने भगवान विष्णुका घोर विरोधी थिए । तर, उनका छोरा भक्त प्रल्हाद विष्णुका भक्त थिए । आफ्नो छोरा नै आफ्नो विरोधीको भक्त भएको हिरण्यकश्यपले रुचाएनन् । हिरण्यकश्यपले विष्णुको भक्त भएको आफ्नो छोरालाई मार्ने षड्यन्त्र रचे ।

छोरालाई आगोमा जलाएर मार्ने उदेश्य अनुसार हिरण्यकश्यपले आफ्नी बहिनी होलिकासँग मद्धत मागे । होलिका प्रल्हादलाई काखमा सुताएर आगोको ज्वालामा बस्न तयार भईन् । आफ्ना भक्तलाई षडयन्त्रपूर्वक मार्न लागिएको चाल पाएपछि विष्णु भगवानले आगोमा बसेकी होलिकाको काखबाट भक्त प्रल्हादलाई बचाए र होलिकालाई आगोमा डढाएर मारे । विष्णुले भक्त प्रल्हादलाई बचाएर होलिकालाइ मारेको खुसियालीमा होली मनाइन्छ ।

विगत बर्षहरुमा जस्तै यस बर्ष पनि एडिलेड नेपालकाे अायाेजनामा भएकाे हाेली कार्यक्रममा नेपाली लोकप्रिय कलाकार दिपक बज्राचार्य सहितका कलाकारहरुले आफ्नो प्रस्तुति प्रस्तुत गरेका थिए ।

नेपाली समुदायकै एक युवालाइ तास्मेनियामा कोरोनाको संक्रमण भएको समाचारहरुका बिचमा भएको कार्यक्रम भैरहदा पनि दर्शकको उपस्थितमा कमि देखिएको थिएन । पोखरा घर भै हाल एडिलेडमा रहेका स्पर्श केसी बर्षमा एकपटक आउने होली त्यसमा पनि एडिलेडकाे मेघा इभेन्ट भएकाले मनमा केही शंका लागि लागि पनि उपस्थित भएको बताउनु भयो । विगत दुई बर्ष देखि साउथ अष्ट्रेलियामा रहेका बिकाश चापागाईं दिपक बज्राचार्यको टिम नै आएकाले पनि कार्यक्रममा आएको र निकै मनोरञ्जन लिएको बताउनु भयो ।

आयोजक एडिलेड नेपालका अध्यक्ष पुष्कर काेइराला एडिलेडमै नेपाली समुदायमा पहिलो पटक लाइभ व्याण्डकाे प्रस्तुति नि शुल्क रुपमा दर्शक माझ प्रस्तुति गरेकाले पनि नेपालीहरुको बसोबासको हिसाबले सानो शहरमा १५०० भन्दा धेरै दर्शकले कार्यक्रम हेरेको बताउनु हुन्छ । कार्यक्रममा नेपाली लाखे ,झाक्री देखि अफ्रिकन रुम्ब, साल्सा नृत्य सम्म प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा अष्ट्रेलियाका लागि नेपालका राजदुत महेशराज दहाल, साउथ अष्ट्रेलियाका सांसद रसेल वाटली, डाना वाटली सहित साउथ अष्ट्रेलिया सरकारको बहुसांस्कृतिक मन्त्रालयका प्रतिनिधि लगायतले होलीको शुभकामना दिनु भएको थियो । तस्बीरहरूः एन्जल  सिंह

      

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार १७:४६