१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साविक विजेता थ्रीस्टार क्लब आहा रारा गोल्डकपको सेमिफाइनलमा


– कृष्ण दवाडी

अघिल्लो संस्करणको उपाधि विजेता थ्रीस्टार क्लब पोखरामा जारी १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा फुटबल रङ्गशालामा आज भएको तेस्रो क्वाटरफाइनलको खेलमा पाहुना टोली गान्तोक सिटी फुटबल क्लब भारतलाई ३–० को फराकिलो अन्तरले पराजित गर्दैै थ्रीस्टार प्रतियोगिताको अन्तिम चारमा पुग्न सफल भएको हो ।

नेपालमा आयोजना भएका प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको गान्तोकले पहिलो हाफमा थ्रीस्टारलाई गोलरहित बराबरीमा रोक्न सफल भए पनि दोस्रो हाफमा थ्रीस्टारले तीन गोल गर्न सफल भयो ।

खेलको ७९औँ मिनेटमा थ्रीस्टारका सञ्जोक राईले मैदानको मध्यभागबाट एक्लै बल अघि बढाउँदै पेनाल्टी एरियामा गोल किपरलाई छलाउँदै गोल गर्न सफल हुनुभयो । प्रतिस्पर्धात्मक खेलमा अग्रता बनाएपछि थ्रीस्टारले विपक्षी टोलीमाथि लगातार दबाब बनाइरहेको थियो । इन्जुरी समयमा उसले थप दुई गोल गर्न सफल भयो ।

तीन मिनेटको इन्जुरी समयको दोस्रो र अन्तिम मिनेटमा थ्रीस्टारका सुशन श्रेष्ठले लगातार गोल गर्दै टोलीको जित सुनिश्चित गरेपछि पाहुना टोली गान्तोक आफ्नो पहिलो खेलबाटै बाहिरिन बाध्य भयो । खेलमा दुई गोल गर्नुभएका श्रेष्ठ ‘म्यान अफ दी म्याच’ घोषित हुँदै रु पाँच हजार नगद तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो ।

खेलमा गान्तोकले गोल गर्ने केही सुन्दर अवसरको सदुपयोग गर्न सकेको थिएन । थ्रीस्टारले अब फाइनल प्रवेशका लागि बुधबार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । खेलपछिको पत्रकार सम्मेलनमा थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले विपक्षी टोलीको खेलस्तरका बारेमा यसअघि जानकारी नभएकाले पहिलो हाफमा सर्तकतापूर्वक खेलेको बताउँदै प्रतिस्पर्धापूर्ण खेलमा जित हासिल भएकामा खुशी व्यक्त गर्नुभयो ।

आफ्नो टोलीमा राष्ट्रिय टोलीका तीन जना खेलाडीबाहेक अन्य सबै युवा खेलाडी रहेको बताउँदै उहाँले खेलाडीको प्रदर्शनबाट सन्तुष्ट रहेको उल्लेख गर्नुभयो । पराजित टोलीका प्रशिक्षक मायाल डक लोप्चाले नेपालमा पहिलोपटक खेल्न आएको बताउँदै प्राप्त मौकालाई सदुपयोग गर्र्न नसकेको तथा विपक्षी टोलीको पहिलो गोल ‘अफसाइड’ रहेकामा रेफ्रीले मान्यता दिएकामा असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मङ्गलबार नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र सङ्कटा क्लबकाबीचमा खेल हुने आयोजकले जनाएको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको विजेताले रु १० लाख एक हजार तथा उपविजेताले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल चैत १ गते सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार २०:५४