१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

पोखराको लेकसाइडमा छैनन् पर्यटकः रङविहीन बन्यो होली


–जमुना शर्मा

पोखरा हरेक उत्सवमा रमाउने शहर । पर्यटकीय शहर भएकाले पनि हरेक पर्वमा उस्तै रौनक थपिन्छ पोखरामा । विशेष गरी फागुपूर्णिमामा लेकसाइडमा विदेशी पर्यटक होलीको रङसँग रमाएको दृश्य निकै हेर्न लायक हुन्थ्यो । पर्यटन व्यवसायीले आयोजना गर्ने होली कार्यक्रमले विशेष उत्सव थप्ने गर्दथ्यो । पोखरेली विभिन्न ठाउँबाट लेकसाइडको होलीमा मिसिन्थे र झनै रमाइलो वातावरण सिर्जना गर्थे । यसपाली पोखराको फेवाताल किनार लगायतका पर्यटकीय क्षेत्र रङविहीन बन्यो ।

पोखरा मात्रै होइन देशका कुनै पनि स्थानमा होलीको रौनक विगत वर्ष जस्तो हुन सकेन । विश्वभरि फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन पूर्वतयारी सतर्कताअनुसार सरकारले होलीमा पानीमा नभिज्ने, रङबाट जोगिन भीडभाडबाट टाढा रहन सतर्क गराएकाले पनि यस वर्षको होलीबाट धेरै टाढा नै बसे ।

विगत वर्षमा प्रहरी प्रशासनलाई नै निकै हम्मे पथ्र्यो होलीमा लेकसाइडको भीडलाई शान्त पार्न । शान्ति सुरक्षाका लागि प्रहरीको सतर्कता उत्तिकै रहन्थ्यो । यस वर्ष भने युवाको जमातमा होलीका रङ र लोला सडकमा देखिएनन् । सवारी साधनको चाप पनि थिएन । कास्कीका ट्राफिक प्रहरी प्रमुख सन्तोष रोकाले यो वर्ष उच्छृखङ्लरुपमा सवारी साधन चलाउने त्यति नभएको बताउनुहुन्छ । “अघिल्ला वर्ष ट्राफिक नियमविपरीत साधन चलाउने, हल्ला बढी गर्ने, बाइकको मोडिफाइ, चर्को हर्न बजाउने बढी हुन्थे अहिले त्यस्तो भएन, मापसे गरेका २०÷२२ जनालाई नियन्त्रणमा लिएका छौँ ।” अहिले कोरोनाको त्रास र प्रशासनको निर्देशनले पनि पोखरामा होलीको प्रभाव कम भएको उहाँको भनाइ थियो ।

लेकसाइडका बाटामा सदावहार देखिने विदेशी पर्यटक अहिले देखिँदैनन् । टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेल विदेशी पर्यटकले निकै रुचाउने नेपाली पर्वमध्ये होली पनि एक भएको बताउनुहुन्छ । “भाइटीका, असार पन्ध्र र होलीमा पोखरा आएका विदेशी पर्यटक विशेष रमाउने गर्थे तर यो वर्ष होली उत्सवमय बनेन”, पोखराको पर्यटन क्षेत्रमा अहिलेको जस्तो सङ्क्रमणको अवस्था यसअघि भोग्नु नपरेको उहाँको भनाइ थियो ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष विकल तुलाचन स्वास्थ्य सर्तकतालाई ध्यान दिएर विगत वर्षमा जस्तो होली विशेष कार्यक्रम नगरेको बताउनुहुन्छ । “यो वर्ष होली कार्यक्रम गरेनाँै । वर्तमान अवस्थालाई मध्यनजर गर्दै र प्रशासनले होली नमनाउन भनेकाले पनि यो वर्ष होली विशेष कार्यक्रम भएन । पोखरामा विगत वर्षजस्तो विदेशी पर्यटक नभएकाले पनि रौनकता देखिएन ।” उहाँले सुनसान लेकसाइड अहिले रङहीन बनेको र पर्यटन क्षेत्रले निकै सङ्क्रमणकालको अवस्था सामना गरिरहेको बताउनुभयो ।

इथिकल टे«किङ नेपाल सञ्चालन गर्दै आउनुभएका पर्यटन व्यवसायी कृष्ण आचार्य यसअघि लेकसाइडमा यस्तो सुनसान कहिल्यै नदेखेको बताउनुहुन्छ । “दुई दशक बढी भयो म व्यवसायमा लागेको तर होली मा यहाँ यस्तो सुनसान कहिल्यै देखेको थिइन ।” होली विदेशी पर्यटक र स्थानीयबीच निकै आत्मीय वातावरण मनाउँदै आएको उहाँ स्मरण गर्नुहुन्छ । स्वास्थ्य सतर्कता एउटा पक्ष हो अर्को अहिले यहाँ पर्यटक नै छैनन् । फेवाताल किनारतिर फाट्टफुट्ट देखिएका विदेशी पर्यटक भने एकआपसमा रङ दलेको दृश्य देखिन्थ्यो भने केही स्थानीय पनि देखिएका थिए । रासस

प्रकाशित मिति : २६ फाल्गुन २०७६, सोमबार २०:३७