१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

नुवाकोटको ककनीसहितका पर्यटकीय गन्तव्य विकास गर्न प्रदेश सरकारको तीन अर्ब


२५ फागुन, काठमाडाैँ । वाग्मती प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७६/७७ मा पर्यटन क्षेत्रको भौतिक पूर्वाधार निर्माण र प्रवद्र्धनका लागि करिब रु तीन अर्ब खर्च गर्ने योजना निर्माण गरेको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधारको विकास निर्माण, प्रचारप्रसारलगायतका कार्यमा उक्त रकम खर्च गर्ने योजना बनाएको हो ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु दुई अर्ब ८७ करोड ९५ हजारको योजना निर्माण गरी काम अघि बढाएको जनाएको छ । मन्त्रालयले यो वर्ष पर्यटन पूर्वाधार विकास कार्यक्रमका लागि मात्र रु एक अर्ब एक करोड ५३ लाख ९५ हजार छुटा्याइएको मन्त्रालयका योजना अधिकृत हेम पाठकले जानकारी दिनुभयो ।

त्यस्तै स्थानीय पर्यटन प्रवद्र्धन कार्यक्रमका लागि रु ५९ करोड ७५ लाख विनियोजन गरिएको उहाँले बताउनुभयो । प्रदेश सरकारले प्रदेशभित्रका दश पर्यटकीय गन्तव्य स्थान तोकेरै आवश्यक भौतिक पूर्वाधार विकास प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले काठमाडौँ उपत्यका बाहेक दश जिल्लाका स्थान नै तोकेर एकीकृतरुपमा भौतिक पूर्वाधारको विकास गर्दै ‘एक जिल्ला एक नमूना पर्यटन गन्तव्य’ निर्माण गर्न लागेको मन्त्रालयका अधिकृत पाठकले जानकारी दिनुभयो ।

उहाँले दोलखाको सैलुङ, सिन्धुलीको हरिहरपुर गढी, काभ्रेको वासुकी थुम्का, नुवाकोटको ककनी, सिन्धुपाल्चोकका ब्रमायणी, धादिङको रुबी भ्याली, रसुवाको सोम्दाङ, मकवानपुरको दामन–चित्लाङ, चितवनको मेघौली र रामेछापको जिरी शिवालयलाई पर्यटकीय गन्तव्य निर्धारण गरिएको जानकारी दिनुभयो । मन्त्रालयले सिधँै नतोकेर जिल्लाबाट छनोट गरेर पठाएका आधारमा पर्यटकीय गन्तव्य तोकिएकाले ती स्थानको मात्र भौतिक पूर्वाधारको विकास गरिने बताइएको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरमा मन्त्रालयले छुट्टै कार्यक्रम लागू गर्ने जनाएको छ । मन्त्रालयले स्थानीय तहहरुसँग सहकार्य गरेर उपत्यकाको लागि विशेष योजना बनाउने तयारी गरेको छ । मन्त्रालयले एउटा पर्यटकीय गन्तव्यमा रु ५० करोड खर्च गर्ने योजनाअन्तर्गत प्रत्येक गन्तव्यमा हरेक वर्ष रु पाँच करोड खर्च गरी दश वर्षमा पूर्णता दिने योजना बनाएको छ ।

मन्त्रालयले पर्यटकीय गन्तव्य तोकेका चितवन, रसुवा र काभ्रे गरी तीन जिल्लाका पर्यटकीय गन्तव्य बाहेक अन्य सात जिल्लाका गन्तव्य स्थानमा ‘हिल स्टेशन’ निर्माणको काम शुरु गरिसकेको जनाएको छ । प्रदेशका हेटौँडा उपमहानगरपालिकासहित नगरपालिका र गाउँपालिकाले पनि आ–आफ्ना क्षेत्रका धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व बोकेका पर्यटकीय गन्तव्यको पूर्वाधार विकास गर्ने कार्यक्रम आगाडि बढाएका छन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार १३:५०