१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

फ्रेण्डसीपको सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभानलाई


२५ फागुन, दमौली । तनहुँको म्याग्दे गाउँपालिका–१ गुणादीस्थित फ्रण्डसीप युवा क्लबले आयोजना गरेको दोस्रो फ्रेण्डसीप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दोभान युवा क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा व्यास नगरपालिका–३ स्थित रिभरसाइड युवा क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै व्यास नगरपालिका–१ स्थित दोभान युवा क्लबले उपाधि जितेको हो ।

प्रतियोगितामा खेलको आठौँ मिनेटमा दोभानका लागि जर्सी नं १४ का विकास श्रेष्ठले पहिलो गोल गर्नुभएको थियो । बाह्रौँ मिनेटमा रिभरसाइडका जर्सी नं ११ का दिपेश आलेले एक गोल गरेर खेललाई बराबरीमा ल्याउनुभयो । खेलको १८औँ मिनेटमा दोभानका श्रेष्ठले पुनः एक गोल गर्दै टिमलाई जिताउनुभयो ।

प्रतिस्पर्धात्मकरूपमा भएको खेलका विजेता रिभरसाइडले रु एक लाख ११ हजार १११ र ट्रफी हात पार्न सफल भएको छ भने उपविजेता रिभरसाइडले रु ५५ हजार ५५५ र ट्रफीमा चित्त बुझाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी रिभरसाइडका सरोज योञ्जन, सर्वाधिक गोलकर्ता रिभरसाइडकै दिपेश आले र उत्कृष्ट गोलरक्षक दोभान युवा क्लबका शिव श्रेष्ठ घोषित हुनुभयो ।

शनिबार नै भएको सेमिफाइनलमा बागबजार युवा क्लबलाई ३–१ ले पराजित गर्दै रिभरसाइड फाइनलमा प्रवेश गरेको थियो भने ठूलोगाउँ युवा क्लबलाई २–० ले पराजित गर्दै दोभानले फाइनलको यात्रा तय गरेको थियो । प्रतियोगिताका विजयी खेलाडीलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पुरस्कार वितरण गर्दै खेल क्षेत्रको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।

उपाध्यक्ष बालकृष्ण घिमिरेले युवाको प्रतिभा प्रस्फुटन गर्न खेलकूदले सहयोग पु¥याएको चर्चा गर्दै गाउँपालिकाले गर्नुपर्ने काम युवा क्लबले गरेर उदाहरणीय कार्य गरेको बताउनुभयो । युवालाई खेल क्षेत्रमा आकर्षित गराउने उद्देश्यले फागुन १८ गतेदेखि शुरु भएको प्रतियोगितामा २३ टोलीको सहभागिता रहेको क्लबका अध्यक्ष दुर्गाराज थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार ११:२४