१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

एमाले निकट असन्तुष्ट पर्यटन व्यवसायीले खोले नयाँ संस्था, सिताराम सापकोटा अध्यक्ष बन्न असफल


३० वैशाख, काठमाडौँ । नेकपा एमाले निकट राष्ट्रिय पर्यटन व्यवसायी संगठनमा आफूले मागेको पद नपाएपछि बाहिरिएको समूहले अर्को नयाँ संस्था जन्माएको छ । संगठनमा रोजेको पद नपाएपछि बाहिरिएको समूहले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा वैशाख १४ गते पर्यटन व्यवसायी संगठन नेपालको नाममा १५ सदस्यीय नयाँ संस्था दर्ता गरेको हो ।

नयाँ संगठनमा पनि पदको बाँडफाँडमा कुरा नमिलेपछि तत्कालका लागि अध्यक्ष र कोषध्यक्षको मात्र पद र जिम्मेवारी तोकिएको छ । जिल्ला प्रशासन कार्यालयमा भएको रेकर्ड अनुसार अध्यक्षमा बच्चुनारायण श्रेष्ठ र कोषाध्यक्षमा नवराज गौलीको नाम रहेको छ । संस्थाको सदस्यहरुमा सन्तवीर लामा, राजेन्द्र सापकोटा, ध्रुव सिंखडा, वीरेन्द्रबहादुर अधिकारी, तिलक लावर, भीमप्रसाद पन्त लगायतका रहेका छन ।

तस्बीरमा टानका पूर्व अध्यक्ष समेत रहेका पर्यटन व्यवसायी सिताराम सापकोटा ।

वैशाख २३ गते नै संस्था दर्ताको बारेमा पत्रकार सम्मेलन नै आयोजना गरेर जानकारी गराउने कार्यक्रम तय भए पनि आन्तरिक रुपमा पदको बाँडफाँड नमिल्दा कार्यक्रम अनिश्चित बनेको छ । नयाँ संगठन जन्माउने अभियानमा दिलोज्यान दिएर लागेका ध्रुव सिंखडा र कुमार थापाले फेसबुकमा स्टाटस नै पोस्ट गरी कार्यक्रमको बारेमा लेखेका थिए तर पदाधिकारीमा कोे–के जिम्मेवारीमा रहने भन्ने टुंगो लाग्न नसक्दा औपचारिक घोषणा हुन सकेको छैन ।

असन्तुष्टहरुको नयाँ संस्थाको घोषणासभामा प्रमुख अतिथि भने तोकिएको छ । एमाले स्थायी समितिका सदस्य मुकुन्द न्यौपानेलाई प्रमुख अतिथि बनाउन संस्थाका सदस्यहरु एकमत रहेका छन । संस्थाका एक सदस्यका अनुसार नयाँ संस्था स्थापनामा न्यौपानेको पनि महत्वपूर्ण भूमिका रहेको छ । न्यौपाने पार्टीको उद्योग व्यवसायी महासंघको इन्चार्ज समेत हुन ।

नयाँ संस्थाका सदस्यद्धय ध्रुव सिंखडा र कुमार थापाले मे ५ अर्थात वैशाख २२ गते लेखेको फेसबुक स्टाटस ।

राष्ट्रिय पर्यटन व्यवसायी संगठनको दोस्रो राष्ट्रिय महाधिवेशनमा असन्तुष्ट समूहको नेतृत्व गरेका टानका पूर्व अध्यक्ष सीताराम सापकोटा भने नयाँ संगठनको नेतृत्व गर्नबाट बञ्चित भएका छन । संगठनको अध्यक्षमा नै दाबी प्रस्तुत गरेका सापकोटा आफ्नो नाममा सहमति नजुटेपछि असन्तुष्ट भएका ८ जनाको नेतृत्व गर्दै संगठनबाट बाहिरिएका थिए ।

उनीहरुले घुर्कीको रुपमा राजिनामा दिए पनि नेतृत्वले स्वीकृत गरिदिएपछि उनीहरु समस्यामा परेका थिए । त्यसपछि नेकपा एमालेभित्र लोपोन्मुख बनेको उपमहासचिव घनश्याम भुषालले नेतृत्व गरेको गुटको सल्लाहमा नयाँ संस्था दर्ता भएको हो । जसलाई सचिव योगेश भट्टराई लगायतले पनि साथ दिएको भट्टराई निकटका नेताहरुले बताएका छन । यति ठूलो संघर्ष गरेर नयाँ संगठन जन्माउन भूमिका खेलका तीनै सापकोटा पर्यटन व्यवसायी संगठन नेपालको अध्यक्ष बन्न भने असफल भएका छन ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैँमा वैशाख १४ मा दर्ता भएको संस्थाका पदाधिकारी र सदस्य ।

नयाँ संगठनका एक वरिष्ठ सदस्यले दैनिकीलाई दिएको सूचना अनुसार सापकोटाको विगतको चालचलन खराब भएकाले अध्यक्ष हुनबाट बञ्चित हनुपरेको हो । उनले भने ‘उहाँको प्रहरी रिपोर्ट खराब भेट्टियो, संस्था दर्ताका लागि प्रहरीको रिपोर्ट अनिवार्य रहेछ जसकारण उहाँ अध्यक्ष बन्न असफल हुनुभयो ।’ उनका अनुसार सापकोटा जुवाखेलेको आरोपमा प्रहरी कारबाहीमा परेका थिए । जसका कारण उनी संस्थापक अध्यक्षका लागि अयोग्य भए ।

संगठनको महाधिवेशनमा केन्द्रीय सदस्य सर्वसम्मत भए पनि पदाधिकारी चयनमा असन्तुष्टि जनाउँदै उपाध्यक्षहरु सिताराम सापकोटा, राजेन्द्र सापकोटा तथा सचिवहरु कुमार थापा र विरेन्द्र अधिकारीसहित ८ जनाले आफ्नो पदबाट राजिनामा दिएका थिए । संगठनको विधान अनुसार केन्द्रीय समितिको चयन गरी उक्त समितिले पदाधिकारीको चयन गर्ने व्यवस्था रहेको छ । तर ८ जनाको समुहले उक्त व्यस्थालाई नै चुनौति दिई संगठनबाट बाहिरिने निर्णय गरेका थिए ।

यो पनि पढ्नुहोस्

–एमाले निकट पर्यटन व्यवसायी संगठनमा सर्वसम्मत नेतृत्व चयन

–राष्ट्रिय पर्यटनमा सर्वसम्मत नेतृत्वको भित्री यथार्थ, कुर्सी प्रहारदेखि पदाधिकारीको राजिनामासम्म 

प्रकाशित मिति : ३० बैशाख २०७५, आईतवार १२:१३