१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

पर्यटन प्रवर्द्धनमा कोषेढुङ्गा बन्यो शुक्लाफाँटा महोत्सव


२५ फागुन, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवर्द्धन गर्ने ध्येयले आयोजित ‘तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव’ स्वदेशी र विदेशी पर्यटनलाई आकर्षण गराउन सफल भएको छ । भीमदत्तका नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका अनुसार महोत्सवका क्रममा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ बालबालिका र नेपाल भारतका साहित्यकारले सामूहिकरूपमा भ्रमण गरेका छन् ।

महोत्सव समापनका क्रममा शनिबार आयोजित कार्यक्रममा उहाँले अपाङ्गता भएका ३५, ज्येष्ठ नागरिक ९०, एकल महिला ६०, अनाथ बालबालिका ३२ र नेपाल भारतका साहित्यकार २० जनाले निःशुल्क निकुञ्ज भ्रमण गरेको जानकारी दिनुभयो । “अन्य स्वदेशी र विदेशी पर्यटकले सोही क्रममा निकुञ्ज भ्रमण गरेका छन्”, उहाँले भन्नुभयो ।

पर्यटकलाई मझगाउँस्थित निकुञ्ज कार्यालय र पिपरियास्थित हात्तीसार पोष्टबाट निकुञ्ज अवलोकनका लागि प्रवेश गराइएको थियो । निकुञ्ज विषयमा मदनचोकमा वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको थियो । भीमदत्त नगरपालिले रु पाँच लाख, नेपाल पर्यटन बोर्डले रु दुई लाख ५० हजार, प्रकृति संरक्षण कोषले रु ५५ हजार, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु दुई लाख र कञ्चनपुर उद्योग वाणिज्य सङ्घबाट रु ५० हजार खर्च व्यहोरोका सार्वजानिक गरिएको थियो ।

निकुञ्जको प्रचारप्रसार, भीमदत्तका पर्यटकीय धार्मिक, सांस्कृतिक क्षेत्रको प्रचारप्रसार र नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य लिएर विभिन्न साझेदार निकायको साझेदारी र सहकार्यमा गरिएको हो नगरप्रमुख विष्टले भन्नुभयो, “यो महोत्सव पर्यटन प्रवद्र्धनमा कोषेढुङ्गा बनेको छ । यसलाई अझै निरन्तरता जानेछाैँ ।”

वर्षा र कोरोना सङ्क्रमणको जोखिमले महोत्सव कार्यक्रमका केही कार्यक्रमलाई अवरोध पुगेको जनाइएको छ । सो निकुञ्जको शुक्लाफाँटा घाँसेमैदानमा गर्ने तयारी गरिएको उद्घाटन कार्यक्रम वर्षाका कारण अन्तिममा आएर पिपरियास्थित हात्तीसारमा गरिएको थियो । महोत्सव उद्घाटनका दिन निकुञ्ज प्रवेशद्वारमा बाह्रसिङ्गाको मूर्ति स्थापना गरी मझगाउँचोकलाई बाह्रसिङ्गाचोक नामारकणसमेत गरिएको छ ।

महोत्सवमा मझगाउँ विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको थियो । तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरिएको फागुन ९ गते शुरु भइ महोत्सव २४ गते समापन भएको थियो । रासस

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आईतवार ०८:१३