४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

मोदीको भ्रमणः मुक्तिनाथको विकासमा महत्वपूर्ण बन्ने अपेक्षा


–वासुदेव पौडेल/रामबहादुर थापा

२९ वैशाख, मुक्तिनाथ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट आज भएको मुक्तिनाथको दर्शन एवं भ्रमणले यस क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

नेपालको महत्वपूर्ण धार्मिक पर्यटकीयस्थल भएर पनि अझैसम्म यस क्षेत्रको अपेक्षित विकास हुन नसकेको बताउने स्थानीयवासी यस भ्रमणले यहाँको विकासलाई अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।

हिन्दू र बौद्ध धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल हुनुका साथै मनाङबाट थोराङपास हुँदै मुस्ताङ र मुस्ताङबाट थोराङपास हुँदै मनाङ पुग्ने पदमार्ग यही भएर जाने हुनाले यो क्षेत्र पदयात्री पर्यटकका लागि पनि महत्वपूर्ण पर्यटकीय गन्तव्य बनेको रानीपौवा आमा समूह मुक्तिनाथकी अध्यक्ष कन्दु गुरुङले बताउनुभयो ।

“यो तीर्थस्थलमा नेपालीका साथै धेरै भारतीय दर्शनार्थी आउने गर्दछन्,” उहाँले भन्नुभयो, “भारतका प्रधानमन्त्रीको यो दर्शन भ्रमणले भारतीय नागरिकमा मुक्तिनाथ मन्दिरप्रति अझ आस्था एवं विश्वास बढाउनेछ ।”

महत्वपूर्ण पर्यटकीयस्थल भएर पनि पूर्वाधार विकास लगायतका दृष्टिले यो स्थल पछि परिरहेको उहाँले बताउनुभयो ।

मुक्तिनाथमा भारतीय प्रधानमन्त्रीको भ्रमण हुनु यहाँका लागि गौरवको विषय भएको छ, गुरुङले भन्नुभयो, “मुक्तिनाथ क्षेत्रमा अतिविशिष्ट व्यक्ति पनि दर्शन एवं भ्रमणका लागि आउने गन्तव्य भएको यो भ्रमणले पुष्टि गरेको छ ।

मुक्तिनाथ पुग्नका लागि पर्यटक एवं दर्शनार्थी आउने बेनी जोमसोम सडक मार्गका साथै जोमसोम यता मुक्तिनाथसम्मको बाटो अझै सन्तोषजनक नभएको अर्का स्थानीवासी गणेश गुरुङ बताउनुहुन्छ ।

    

आगामी दिनमा विदेशी विशिष्ट पाहुनाको आगमन बढाउन बाटोघाटो लगायतका पूर्वाधार विकास गर्नु आवश्यक हुने उहाँको भनाइ छ ।

खानेपानी लगायतका समस्या मुक्तिनाथ क्षेत्रमा देखिएको जनप्रिय युवा क्लब मुक्तिनाथका पूर्व अध्यक्ष सुरज गुरुङले बताउनुभयो । खानेपानी समस्या समाधानका लागि तीन वर्ष अघि भारत सरकारको रु एक करोडको लागत सहयोगमा ५०÷५० हजार लिटरका दुईवटा पानी ट्यांकी निर्माण भए पनि त्यहाँबाट बजारमा पानी लैजान नसकिएको उहाँले बताउनुभयो ।

“भारत सरकारको सहयोगमा खानेपानी ट्यांकी बनिसकेका छन्, यसको पूर्णता पनि भारत सरकारबाट नै होस् भन्ने हाम्रो चाहना छ,” उहाँले भन्नुभयो, “भारतीय प्रधानमन्त्रीको भ्रमणका अवसरमा यहाँ आउनुभएका राजदूतावासका कर्मचारीसँग यो विषयका वारेमा जानकारी पनि गराएका छौं ।”

मुक्तिनाथ आउने पर्यटकलाई लक्षित गरी मुख्य प्रवेश मार्ग रानीपौवामा हाल दैनिक एक हजार जनासम्म बस्नसक्ने गरी होटल स्थापना भएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो समयमा अन्य होटेलका संरचना निर्माण हुने क्रम पनि बढेको छ ।

मुक्तिनाथमा नेपालीका साथै भारतीय पर्यटकको अत्याधिक चाप हुने गरेकोमा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणसँगै आगामी दिनमा भारतीय पर्यटकको संख्या दोब्बर तेब्बर नै हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो ।

पर्यटकलाई लक्षित गरी रानीपौवामा होटेल थपिने क्रम बढिरहेको छ, जनप्रिय युवा क्लबका अध्यक्ष उर्केन गुरुङले यस क्षेत्रमा स्वास्थ्योपचारको पनि गम्भीर समस्या छ भन्नुभयो ।

रानीपौवामा अहिले एउटा मात्र मुक्तिनाथ हेल्थ केयर सेन्टर रहेको र त्यो पनि प्रभावकारी रुपमा सञ्चालन भइनसकेका कारण यहाँ आउँदा सामान्य बिरामी हुँदा पनि उपचार नपाइने समस्या रहेको उहाँको भनाइ छ ।

भारतीय प्रधानमन्त्री मोदीको भ्रमणसँगै भारतीय पर्यटक बढ्ने सहजै अनुमान गर्न सकिन्छ, उहाँले भन्नुभयो, “यहाँ आउने पर्यटकको सेवा तथा सुविधाका लागि खानेपानी, स्वास्थ्योपचार जस्ता अत्यावश्यक सेवाको व्यवस्थापन सरकारले गर्नुपर्दछ ।”

भारतीय प्रधानमन्त्रीको यो भ्रमण यहाँको धार्मिक पर्यटकीय महत्वलाई उजागर गरेको छ, क्लबका अध्यक्ष गुरुङले भन्नुभयो, यसलाई दृष्टिगत गरी अब पूर्वाधार विकासमा जोड दिनु अहिलेको अपरिहार्य आवश्यकता हो ।” रासस

प्रकाशित मिति : २९ बैशाख २०७५, शनिबार २०:३७