१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

अर्जुननरसिंह केसीका पूर्वसल्लाहकारसहित सयाैँ कार्यकर्ता नेकपामा प्रवेश गर्दै


१७ फागुन, नुवाकोट । नेपाली कांग्रेसमा ३० वर्षदेखि क्रियाशिल रहेका ट्रेड युनियन कांग्रेसका अध्यक्ष शिव देवकोटासहित सयौँ नेता कार्यकर्ताले नेपाली कांग्रेस परित्याग गरेका छन । उनीहरूले नेपाली कांग्रेस परित्याग गरी अब नेकपाको राजनीतिमा प्रवेश गर्ने जानकारी समेत दिएका छन ।

शनिबार पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता झलनाथ खनालले देवकोटासहितका नेता कार्यकर्तालाइ नेकपामा स्वागत गर्नेछन । देवकोटा १५ वर्षदेखि कांग्रेसको मजदुर संगठनको नेतृत्वमा रहेका थिए । उनी नुवाकोटका अग्रज पत्रकार मध्येका हुन । झण्डै २५ वर्षदेखि पत्रकारितामा सक्रिया देवकोटाले साप्ताहिक र दैनिक पत्रिका प्रकाशन गर्दै आएका छन ।

देवकोटा पूर्वमन्त्री अर्जुननरसिंह केसीको स्वकीय सचिव र प्रेस सल्लाहकार भैसकेका व्यक्ति हुन । नेकपा प्रवेशको बारेमा दैनिकीले जिज्ञासा राख्नदा देवकोटाले नेपालको समृद्धिका लागि कांग्रेसले केही गर्न नसक्ने निष्कर्षसहित आफू नेकपा प्रवेश गर्न लागेको जानकारी दिए । उनले जनआकांक्षा पूरा गर्न र गाउँगाउँको विकास गर्न नेकपालाइ साथ दिनुको विकल्प नरहेको बताए ।

देवकोटासँगै उनको लिगेसीमा रहेका सयौँ नेता कार्यकर्ता पनि नेकपा प्रवेशका लागि कांग्रेस परित्याग गरिसेका छन । उनीहरूको नाम खुलाइएको छैन । स्रोतका अनुसार उनीहरू सबै आज नेकपाको पार्टी कार्यालय विदुरमा भेला हुन सम्भव नहुने अवस्थामा अर्को कुनै दिन विशेष कार्यक्रम गरेर नेकपा प्रवेश गराइने छ र अाज देवकोटा मात्र प्रवेश गर्नेछन । नेकपा प्रवेशको तयारी गर्नेमा पत्रकार मात्रै पाँच भन्दा बढी रहेका छन ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०८:३६