१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

१७ फागुन, काठमाडौं । नेकपा वरिष्ठ नेता माधव नेपालले गत सोमबार आफ्नै निवासमा संविधान संशोधन कार्यदलको बैठक बोलाए । कार्यदलका सदस्यद्वय सुवास नेम्बाङ र खिमलाल देवकोटासँग कार्यदलका विषयमा छलफल चल्दै गर्दा नेता नेपालको मोबाइलमा ‘इमेल’ आयो ।

इमेल पठाएका थिए, नेता वामदेव गौतमले । गौतमले संविधान संशोधनको ‘ड्राफ्ट’ नै इमेल गरेका थिए । ‘ड्राफ्ट आयो, यसमा थपघट गरेर छिटो गरिदिनुपर्‍यो’ भन्ने सन्देश आयो भन्दै नेपालले कार्यदलका सदस्यद्वयलाई सुनाएका थिए ।

नेम्बाङ र देवकोटाले कार्यदल गठनबारे पार्टीको आधिकारिक निर्णय, संविधान संशोधनको ‘टीओआर’ र संशोधन पारदर्शी हुनुपर्ने अडान राख्दै कार्यदल बहिष्कारको सन्देश दिए । राष्ट्रियसभाका सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन कार्यदलको तयारी देखेपछि प्रधानमन्त्री केपी शर्मा ओली झस्के । उनले आफूविरुद्धको घेराबन्दीका रूपमा लिँदै कार्यदल भत्काउने र संशोधनका विपक्षमा मत बनाउन सुरु गरे । नेकपाभित्र लफडा सुरु भयो ।

विवादबीच बिहीबार सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गर्‍यो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने उक्त पदमा प्रधानमन्त्री ओलीले ‘सचिवालको बैठकको निर्णय’ नमान्ने सन्देश दिए । प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपाललाई टेलिफोन गरेर अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने र गौतमलाई राष्ट्रियसभामा पठाउन नसकिने जवाफ दिए । सचिवालयले निर्णय गरेको २४ घण्टा नबित्दै प्रधानमन्त्री ओलीबाट निर्णय उल्लंघन हुने सन्देशले नेकपाभित्र तीव्र विवाद उत्पन्न भयो । प्रधानमन्त्री ओलीमाथि दबाब बढाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता नेपाल, अर्का वरिष्ठ नेता झलनाथ खनाल र गौतमबीच लगातार वार्ता र भेटघाट भए ।

सचिवालयको निर्णय नमाने जुनसुकै कदम पनि चाल्न सकिने दबाब प्रधानमन्त्री ओलीमाथि पर्‍यो । सचिवालय बैठकको निर्णय प्रधानमन्त्री ओलीले कार्यान्वयन गर्नुपर्छ भन्नेमा महासचिव विष्णु पौडेल पनि उभिएपछि प्रधानमन्त्री ओली थप दबाबमा परे । पार्टीभित्र बढ्दो तनाव र गठबन्धनले अनेक हल्ला फैलिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।

प्रधानमन्त्रीविरुद्धको गठबन्धन बलियो हुनुमा अन्य दुई वटा कारण पनि थपिए । पहिलो, संविधान संशोधन कार्यदल गठनको (गोप्य) निर्णय प्रधानमन्त्री कार्यालयबाट बाहिरिएको आशंका । दोस्रो, नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा अर्का अध्यक्ष दाहालसहितका नेताहरूको नाम किटेर सार्वजनिक भएको श्वेतपत्र ।

एकातिर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री अडानमा अडिग, अर्कोतर्फ अर्का अध्यक्षको गठबन्धन बलियो हुँदै जाँदा दुर्घटनाका संकेत पनि देखा पर्न थाले । महासचिव विष्णु पौडेलले मध्यमार्गी प्रस्ताव गरे, ‘गौतमलाई राष्ट्रियसभामा ल्याउने र अर्थमन्त्री खतिवडालाई ६ महिनासम्म मन्त्री पदमा निरन्तरता दिने ।’ महासचिवको मध्यमार्गी प्रस्ताव दुवैतिर बिहीबार साँझ नै पुगेको थियो ।

शुक्रबार बिहानै अध्यक्ष दाहाल निवास खुमलटारमा वरिष्ठ नेताद्वय नेपाल र खनालबीच छलफल भयो । ऊर्जामन्त्री वर्षमान पुन पुगेको १५ मिनेटमा छलफल समाप्त भएको स्रोतले बतायो । छलफलपछि दाहाल गृहजिल्ला चितवन प्रस्थान गरे भने वरिष्ठ नेता नेपाल प्रधानमन्त्री भेट्न बालुवाटार पुगे । चितवन पुगेका दाहालले सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्ने धारणा सार्वजनिक गरे । अर्थमन्त्री खतिवडालाई ६ महिनाम्म दोहोर्‍याउन सकिने संवैधानिक व्यवस्था रहेको उल्लेख गर्दै दाहालले मध्यमार्गी प्रस्तावप्रति लचिलो भएको सन्देश पनि दिए । चितवनबाट शुक्रबार नै दाहाल हेलिकप्टरमार्फत सीधै सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०७:३७