७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कोरोनाको जोखिम : उच्च सतर्कता अपनाइँदै


१७ फागुन, काठमाडौं । विश्वमै कोरोना भाइरस (कोभिड–१९) ले आक्रान्त बनाइरहेको अवस्थामा नेपालमा भाइरस प्रवेशै हुन नदिन सरकारले उच्च सतर्कता अपनाएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेपछि सरकारले कोराना भाइरस फैलन नदिन उच्च सतर्कता अपनाएको जानकारी दिएको छ ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले डब्लूएचओले देशको स्वास्थ्य प्रणाली हेरेर जोखिम, उच्च जोखिम र अति उच्च जोखिममा राखेको बताए । हाम्रो देशमा कोरोना भाइरसबाट हाल सङ्क्रमित कोही छैनन् तर डब्लूएचओले अति उच्च जोखिममा राखेको छ । यसअघि चीनबाट आएका एक नेपालीलाई कोरोना भाइरस भए पनि उपचार भइसकेको छ ।

महानिर्देशक श्रेष्ठले जापान, दक्षिण कोरिया लगायतका देशमा सयौँ व्यक्तिलाई सङ्क्रमण देखिएको छ तर ती देशलाई उच्च जोखिममा मात्र राखिएको बताए । डब्लूएचओले नेपालको स्वास्थ्य प्रणाली अस्तव्यस्त भएका कारणले अति उच्च जोखिममा राखेको जानकारी पनि दिए । महानिर्देशक श्रेष्ठले नेपालसहित श्रीलङ्का, पाकिस्तान र अफगानिस्तान जस्ता देशलाई पनि अति उच्च जोखिममा राखेको जानकारी दिए । डब्लूएचओले अफ्रिकी मुलुकका अधिकांश देशलाई अति उच्च जोखिममा राखेको खबर गोरखापत्र दैनिकमा छ ।

चीनमा घट्दो क्रममा रहेको कोरोना विश्वका विभिन्न मुलुकमा भने बढ्दो रूपमा छ । नेपालमा कोरोना भाइरस छिरेको अवस्थामा यसले भयावह रूप लिने भएकाले डब्लूएचओले अति उच्च जोखिममा राखेको उनको तर्क छ ।

कोरोनाको प्रकोप बढेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई थप परीक्षण मजबुत बनाइएको छ । हेल्थ डेस्कका डा. प्रदीप यादवले दैनिक पाँच सयदेखि सात सय जनाको स्क्रिनिङ गर्ने गरेको जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०६:४३