१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

आश्वासनमै सीमित पश्चिम सेती आयोजना


१७ फागुन, डडेलधुरा । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा उठान हुने पश्चिम सेती परियोजना अहिलेसम्म आश्वासनमै बितेको छ ।

नारामा धेरै बढीको जिब्रोबाट बोलिने पश्चिम सेती कहिले बन्छ कुनै टुङ्‍गो छैन । परियोजनाको २८ वर्ष बितिसक्दा पनि निर्माणको काम भने अगाडि बढेन ।

यस क्षेत्रका बासिन्दा तीन दशक पहिलादेखि चर्चामा रहेको पश्चिम सेती परियोजनाको आशामा अझै रहेको खबर गोरखापत्र दैनिकमा छ । पश्चिम सेती परियोजनाको निर्माण स्थलका बासिन्दाले दशकौँपहिला परियोजना लागू हुने सुनेका मात्रै थिएनन्, केही कम्पनीले स्थलगत प्रतिवेदनसमेत तयार पारेको उनीहरू सुनाउँछन् ।

पश्चिम सेती परियोजना सुरु हुने हल्लाले अन्य विकासबाट वञ्चित बन्नु परेको स्थानीयको दुःखेसो छ । “पश्चिम सेती परियोजना प्रभाव क्षेत्रमा लगानी गरेपछि डुबान हुने भन्दै सरकारको लगानी रोकिएको छ”, स्थानीय बासिन्दा डम्बरबहादुर सिंह भन्छन्न्छ, “न पश्चिम सेती सुरु हुन्छ, न त यस क्षेत्रको अन्य विकास निर्माण कार्य नै ।” उनले परियोजनाको हल्लाले बाटो, खानेपानी, सिँचाइ, शिक्षा जस्ता आधारभूत आवश्यकताबाट समेत वञ्चित हुनु परेको बताए ।

दशकौँ पहिलेदेखि विभिन्न विदेशी कम्पनीसँग सम्झौता भई केही काम सुचारु भएको स्थानीय सरिता चन्दले बताइन् । डडेलधुराको बेलापुर र बैतडीको ढुङ्‍गाडका बस्ती र सेती परियोजना लागू हुने स्थान तथा बाँध बाँधिने ठाउँमा विभिन्न काम भएको उनले बताइन् ।

डडेलधुराको नवदुर्गा गाउँपालिका ४ र ५, बैतडीको सिगास गाउँपालिका, डोटीका आदर्श गाउँपालिका र बझाङका केही गाउँमा विकास हुन नसकेको शारदा माध्यमिक विद्यालय ढुङ्‍गाडका प्रधानाध्यापक मीनबहादुर चन्दले बताए । एक वर्षअघि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेसनल कम्पनीले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् परियोजना संयुक्त लगानीमा बनाउने सम्झौता गरेपछि यस क्षेत्रका जनतामा आशा जागेको थियो । लगानी बोर्डले स्वीकृति दिएको सम्झौतामा हस्ताक्षर भएपछि यस क्षेत्रमा काम हुने आशा पलाए पनि पुनः निराशामै बाँच्नु परिरहेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७६, शनिबार ०६:२९