१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

साम्प्रदायिक स्वरुप लिँदै दिल्ली हिंसा, मृत्यु हुनेको संख्या २७ पुग्यो


१५ फागुन, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा बढेको हिंसाले साम्प्रदायिक स्वरुप लिँदै छ । विवादास्पद नागरिकता विधेयकको विरोधमा भड्किएको हिंसाका कारण मृत्यु हुनेको संख्या २७ पुगेको छ । मृत्यु हुनेमध्ये एकजना प्रहरी अधिकारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीबीसी हिन्दीका अनुसार दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा पनि प्रहरी निगरानी बढाइएको छ ।

हिंसाले साम्प्रदायिक रुप लिएसँगै हिन्दु-मुस्लिम समुदायबीच झडप भएको छ । साम्प्रदायिक हिंसामा मानवीय हताहती बढ्दै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई हिंसा भएका स्थानहरुमै खटाइएको छ । मुस्लिमलाई सीधै विभेद गर्ने गरी ल्याइएको भनिएको नागरिकता संशोधन विधेयकको विरोधमा भारतमा महिनौंदेखि प्रदर्शन भइरहेको थियो । तर गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएको हो ।

पसल तथा घरहरूमा आगजनी गरिएको छ । झडपको दृश्य तथा भिडियो नखिच्न सञ्चारकर्मीहरुलाई चेतावनी दिइएको छ । कर्फ्युका बाबजुद प्रदर्शनकारीले लाठी र ढुङ्‍गा बोकेर हिँडिरहेका छन् ।

दुई पक्षबीचको झडपमा संलग्‍न । तस्बिर : रोयटर्स

नयाँ नागरिकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भागेर आएका गैरमुस्लिमलाई नागरिकता दिने बाटो खुला गरेको छ । भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) का मानिसलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार ०७:५२