१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धार हुुनुपर्छः मुख्यमन्त्री पौडेल


१४ फागुन, नुवाकाेट । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिभुवन त्रिशूली माविको नवनिर्मित भवन उद्घाटन गर्नुभएको छ । विसं २००७ चैत ९ गते स्थापित सो विद्यालय गोरखाभूकम्पबाट क्षतिग्रस्त भएको थियो । सो अवसरमा मुख्यमन्त्री पौडेलले अबको शिक्षा प्रणालीमा ८० प्रतिशत प्राविधिक धारको पढाइ हुनुपर्नेमा जोड दिँदै अबको नयाँ शिक्षालाई परिमार्जन गरी पढाउने हैन सिकाउने शिक्षाका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

 

कार्यक्रममा प्रतिनिधिसभा सदस्य बहादुरसिंह लामाले सरकारी विद्यालयलाई निजी विद्यालयभन्दा राम्रो पढाइ हुने गरी विकास गर्नुपर्ने बताउनुभयो । वाग्मती प्रदेशसभा सदस्य केशव पाण्डेले हरेक विद्यालयमा शिक्षकको नै महत्वपूर्ण भूमिका हुने बताउनुभयो । विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले शिक्षाको परिभाषा गर्दा शिक्षित हुनु मात्र नभई प्रयोगात्मक शिक्षा पनि हुनुपर्ने बताउनुभयो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय एकाइ (शिक्षा)को समन्वय तथा एशियाली विकास (एडिबी) बैंकको आर्थिक सहयोगमा रु ११ करोड ५३ लाखको लागतमा सो विद्यालयको भवन पुनःनिर्माण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवीन्द्रमान प्रधानले विद्यालयमा नुवाकोट, रसुवा, धादिङ जिल्लाका विद्यार्थीका लागि महिला फिडर छात्रवाससमेत सञ्चालनमा रहेको बताउनुभयो ।

प्रधानाध्यापक महेन्द्र राउतले पुरानो पश्चिम १ नं कै पुरानो सोा विद्यालयमा अङ्गे्रजी माध्यमबाट गुणास्तरीय शिक्षा प्रदान गरिएको बताउँदै कक्षा ११ र १२ मा विज्ञान विषय पठनपाठन हुने नुवाकोट जिल्लामा पहिलो र एक मात्र भएको जानकारी दिनुभयो । सहायक प्रधानाध्यापक राजेन्द्र दवाडीले जेहेन्दार र गरीब विद्यार्थीलाई सो छात्रावासमा राखिएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार २०:१३