१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

बामदेव गाैतमलाई खुला पत्रः तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने किन ?


प्रिय बामदेव कमरेड अभिवादन ।
तपाई जनताको बहुदलिय जनवादको प्रखर ब्याख्यता हो । पार्टी भित्र तपाई सधैं क्रियाशिल र जुझारु नेताका रुपमा चिनिनुहुन्छ । तर, तपाईको अस्थिर चरित्रले पार्टीलाई सधै नोक्सान गरेको छ । २०५४ सालमा पार्टी फुटाएर तपाई अक्षम्य अपराध गर्नुभयो । पछि पार्टी जिरो भएपछि धेरै उर्जाशिल कार्यकर्तालाई तत्कालिन माओवादीमा पठाएर थोरै मात्रैं कार्यकर्ता लिएर तत्कालिन एमालेमा फर्किनुभयो । २०५६ सालमा नै तत्कालिन एमालेको बहुमतको सरकार बन्न रोक्ने र नेपाल कम्युनिष्ट आन्दोलनलाई पछाडि धकेल्ने अपजस तपाईलाई नै जान्छ ।

भलै यी कुरा केही पुराना भए । तर इतिहासका गम्भिर गल्ती र पाठ हुन् । २०७४ सालमा भएको संघिय निर्वाचनमा तपाई बर्दियाबाट हार्नुभयो, कारण तपाई नै हो । स्थानीय तहको निर्वाचनको तथ्यांक हेर्दा तपाई घरमा नै बसेर चुनाव प्रसारप्रसार बिनै चुनाव जित्ने अबस्थामा हुनुहुन्थ्यो, तर तपाई हार्नुभयो कारण किन ? कहिल्यै गम्भिर समिक्षा गर्नुभएन ।

आफु भित्र कुनै गल्ती भेट्टाउनुभएन, दोष अरु माथि लगाउनुभयो । तपाईका निर्वाचन क्षेत्रका ३२ हजारभन्दा बढि जनतालाई भड्काउने तागत कसैसँग थिएन, थियो त केवल तपाईको कार्यशैली र जनताप्रतिको घोर अपमान । तपाई एक बर्षमा कतिपटक बर्दिया पुग्नुहुन्छ ? कतिपटक जनतालाई भेट्नु हुन्छ ? त्यहाँका जनताका समस्याको समाधान कति गर्नुभयो ? तपाईको भैसेपार्टीको घरमा के जनताको सहज पहुँच छ । आफ्नो घरमा पालेका कुकुरको जतिको माया तपाईलाई बर्दियाका जनताको छ ?

किन त्यहाँका जनताले तपाईलाई रुचाएनन् ? हरि पराजुली र डिवी कार्कीका भरमा तपाई चुनाव जित्ने सपना देख्नुभयो । म तपाईलाई एउटा उदाहरण दिन्छु, तनहुँ क्षेत्र नं. १ बाट कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेललाई यसपटक किसान श्रेष्ठले हराए, किन हराए ? हामीले भन्यौं रामचन्द्र पौडेलले जितेर केही गरेनन्, यसपटक तपाईहरुले तनहुँलाई पछाडि धकेल्ने की अगाडि बढाउने सोच्नुस् भनेर जनतालाई बुझायौं ।

एकपटक जनतालाई मन बदल्न भन्यौं र जनताले सोही अनुसार पौडेल हराए र किसान जिताए । तपाईकै जतिको वजन पौडेलको पनि थियो, पार्टीमा । तपाईलाई एउटा जानकारी गराऔं, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हरेक महिना कम्तीमा पनि दुईपटक चितवन आउनुहुन्छ, यहाँका जनतालाई भेट्ने गर्नुहुन्छ । किन आउनुहुन्छ होला सोच्नुस् ।

तपाईलाई जनताले पाँच बर्षका लागि संसदमा जान रोकेकै हुन् तर तपाई १५ पटकसम्म संसद छिर्ने अनेक प्रयास गरिरहनुभएको छ । पार्टीका अध्यक्ष र नेताहरुलाई दुःख दिईरहनु भएको छ । अनावश्यक तनाव सिर्जना गर्नुभएको छ । आखिर किन ? तपाईलाई संगठन विभागको प्रमुख बनायो, विधान संसोधन गरेर भए पनि उपाध्यक्ष पार्टीले बनायो ।

अझैं गनगन किन ? संगठन विभाग प्रमुख भएर गर्नुभयो अहिलेसम्म के ? कतिवटा कार्यक्रम गर्नुभयो ? कति संगठन फैलाउनुभयो ? कहाँ कहाँको विवाद मिलाउनुभयो ? तपाई कतैं कसैका लागि परिचालित भएर सिंगो पार्टीलाई ध्वतः बनाउने अभियानमा त हुनुहुन्न ? तपाईलाई जनताले हराएकै बेला प्रधानमन्त्री बन्ने लालसा किन यति चुलियो ? तपाई प्रधानमन्त्री भएर गर्नुहुन्छ के ? उद्धेश्य के ? तपाईका लागि सिंगो नेकपा सति जानुपर्ने किन ? जनताको बीचमा गएर अर्को चुनावका लागि तयारी गर्नुस् । तपाईको पहुँच छ त्यसको सहि सदुपयोग जनताका लागि गर्नुस् । आगे तपाईको मर्जी शुभकामना छ ।

सुवास पण्डित, चितवन

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार १९:११