१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

दिल्लीको हिंसा, साम्प्रदायिक स्वरुप :  १३ को मृत्यु, ८० घाइते- प्रहरी निगरानी बढाइयो


१४ फागुन, एजेन्सी । भारतको राजधानी नयाँदिल्लीमा बढेको हिंसाले साम्प्रदायिक स्वरुप लिँदै छ । विवादास्पद नागरिकता विधेयकको विरोधमा भड्किएको हिंसाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृत्यु हुनेमध्ये एकजना प्रहरी हुन् । यस्तै झडपमा ८० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बीबीसी हिन्दीका अनुसार दिल्लीमा हिंसा भड्किएपछि छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा पनि प्रहरी निगरानी बढाइएको छ ।

हिंसाले साम्प्रदायिक रुप लिएको छ । हिन्दु-मुस्लिम समुदायबीच झडप भएको छ । नयाँ नागरिकतासम्बन्धी कानुनको विपक्षमा यसअघि पनि प्रदर्शन भएका थिए । तर गएको आइतबारदेखि प्रदर्शनले उग्र रुप लिएपछि हिंसा भड्किएको हो ।

दुई पक्षबीचको झडपमा संलग्‍न । तस्बिर : रोयटर्स

पसल तथा घरहरूमा आगजनी गरिएको छ । झडपको दृश्य तथा भिडियो नखिच्न सञ्चारकर्मीहरुलाई चेतावनी दिइएको छ । कर्फ्युका बाबजुद प्रदर्शनकारीले लाठी र ढुङ्गा बोकेर हिँडिरहेका छन् ।

गृह मन्त्रालयमा भएको बैठकपछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले शान्तिको अपिल गर्दै हिंसा बढ्न नदिन सीमा नाकामा कडाइ गरिएको जानकारी दिए । यस्तै दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीमा भड्किएको हिंसा रोक्न थप सुरक्षा बल आवश्यक रहेको बताएका छन् ।

नयाँ नागरिकता कानुनले भारतका तीनवटा छिमेकी मुलुक पाकिस्तान, अफगानिस्तान र बंगलादेशबाट भागेर आएका गैरमुस्लिमलाई नागरिकता दिने बाटो खुला गरेको छ । भारत आएर बसोबास गरिरहेका ६ अल्पसंख्यक समुदाय (हिन्दू, बौद्ध, जैन, पारसी, इसाई र सिख) का मानिसलाई भारतीय नागरिकता दिइए पनि मुस्लिमलाई भने नदिइने व्यवस्था भएपछि मुस्लिम समुदायले यसको विरोध गर्दै आएको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०७६, बुधबार ०८:४७