१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रिय कविता प्रतियोगितामामा ‘देश बाहिरबाट देश’ शीर्षकको कविता प्रथम


१२ फागुन, काठमाडाैँ । टोखा नगरपालिकास्थित न्हुज खलः ले आइतबार काठमाडाैँमा आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गर्नुभयो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु ३० हजार र सान्त्वना पाउनेलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको हो ।

सो अवसरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले कविले कवितामार्फत राष्ट्रभक्ति भावना जागृत गरेको बताउँदै साहित्यकारका सिर्जनाले जागरण र रुपान्तरणमा मद्दत मिल्ने गरेको विचार व्यक्त गर्नुभयो । “प्राकृतिक स्रोत र साधनको उपयोग गर्दै युवाहरु उत्पादन मूलक कार्यमा जोडिनुपर्छ”, उहाँले भन्नुभयो, “युवाले अब विदेशमोह त्याग्दै राष्ट्र निर्माणमा सरकारलाई सहयोग गर्ने बेला आएको छ । ”

प्रतियोगिता निर्णायक मण्डलका संयोजक साहित्यकार श्यामलले प्रतियोगितामा भाग लिएका ६० प्रतिशतका कविता पूर्ण रुपमा कविता बनिनसकेको बताउनुभयो । “धेरै कविता भर्खर सिक्न लागे जस्ता छन्”, राष्ट्रिय समाचार समितिका अध्यक्ष समेत रहनुभएका उहाँले भन्नुभयो, “सिक्ने प्रयास गर्नु सकारात्मक पक्ष हो, मेहनत गरेमा भविष्य उज्ज्वल छ ।” उहाँले कवितामा पुरानै विषयवस्तु हावी भएको पाइएको बताउँदै प्रकृति, मानवशास्त्र र विश्वजगत्को अध्ययनका साथ कवितामा मौलिकता र नयाँपन दिन कविहरुलाई आह्वान गर्नुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले कविताले छिट्टै मानिसलाई आकर्षित बनाउने बताउँदै अझ छन्द लयमा लेखिएका कविताले मानिसको मानसपटलमा राम्रो प्रभाव छाड्ने विचार राख्नुभयो । सो अवसरमा रु ५० हजार र सम्मानपत्रका साथ न्हुज प्रगतिशील साहित्य पुरस्कार पूर्ण वैद्यलाई प्रदान गरियो । संस्थाका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समाज सुधारमा युवा वर्गलाई आकर्षण गर्ने उद्देश्यका साथ विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने गरिएको जानकारी दिनुभयो । तस्बीरहरूः पि तिमल्सिना

   

प्रकाशित मिति : १२ फाल्गुन २०७६, सोमबार ०८:१६