७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

नुवाकोट –रसुवा अध्ययन अवलोकन भ्रमण शुरु


११ फागुन, विदुर । नेपाल भ्रमण वर्ष २०२० का अवसरमा नुवाकोट रसुवा पर्यटन समाज र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा दुई जिल्लामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि ‘भ्रमण वर्ष २०२० नुवाकोट– रसुवा अध्ययन अवलोकन भ्रमण’ शुरु गरिएको छ । नुवाकोट जिल्ला समन्वय समिति, नुवाकोट उद्योग वाणिज्य सङ्घ र होटेल पर्यटन व्यवसायी सङ्घ वाग्मती प्रदेशले आज विदुरमा काठमाडौँदेखि नुवाकोट आएका टोलीका सदस्यलाई फूलमालाले स्वागत गरेका छन् ।

सो अवसरमा नुवाकोट जिससका प्रमुख सन्तमान तामाङले राजधानीसँग जोडिएको र पहाडी जिल्ला भएका कारण पनि पर्यटकीय क्षेत्रका रुपमा नुवाकोट अग्रपङ्तिमा रहेको बताउनुभयो । उहाँले नुवाकोटका ककनी, सूर्यचौर, घलेभञ्ज्याङ, मानेभञ्याङ्, सामरीभञ्ज्याङ, ढिकीजाँतो, साततले दरबार, नुवाकोट भैरवी मन्दिर, देवीघाट जाल्पादेवी मन्दिर र पृथ्वीनारायण शाह स्मारक, सिलट्याङ्की, त्रिशूली र तादी नदीको दृश्यावलोकन र भ्रमण गर्नैपर्ने बताउनुभयो ।

 नुवाकोट उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष गीता अमात्यले भिजिट नुवाकोटमा त्रिशूली र देवीघाट जलविद्युत आयोजना भएकाले जिल्लालाई पहिले नै विद्युत्भारमुक्त जिल्ला घोषणा गरिएको र यहाँ पानी प्रशोधन, दाना, ह्याचरी, ढाका कपडा उद्योगलगायत फस्टाएको जानकारी दिनुभयो ।

नुवाकोट जन्मथलो भएका नुवाकोट रसुवा पर्यटन समाजका सदस्य एवं अर्थबाउण्ड एक्सपिडिन्स प्रालिका अध्यक्ष केदार गजुरेलले जिल्ला भैरवी मन्दिर, जाल्पादेवी, उत्तरगया धाम, वनदेवी मन्दिर, पञ्चकन्या मन्दिर, दुप्चेश्वर महादेव, वासुकी मन्दिर, थानापति माताको मन्दिर, निरञ्जना मन्दिर, राम मन्दिर तथा थुपै्र नाच, जात्रा, उत्सव र पर्वले धनी भएको बताउनुभयो । नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले नुवाकोट धेरै पहिलेदेखि नै धार्मिक, आर्थिक तथा व्यापारिक दृष्टिले महत्वपूर्ण रहँदै आएको बताउनुभयो । उहाँका अनुसार साँघु बजार(त्रिशूली) कुनै समयमा पश्चिम एक नम्बर क्षेत्र(नुवाकोट, रसुवा, धादिङ) र गोरखाको एक मात्र व्यापारिक केन्द्रका रुपमा थियो । समयको विकासक्रमसँगै बजार र व्यापारको स्थानीयकरण हुँदै जाँदा ओझेलमा परेको छ ।

होटल पर्यटन व्यवसायी सङ्घ वाग्मती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले नुवाकोटका बट्टार, त्रिशूली बजार, देवीघाट, रातमाटे, ककनी, ढिकुरे, बेत्रावती जस्ता ठाउँ प्रमुख व्यापारिक केन्द्रका रुपमा विकसित भइसकेको जानकारी दिनुभयो । उप्रेतीका अनुसार नुवाकोटमा यातायातको तीव्र विकास र जलविद्युत् आयोजनाको संख्यामा आएको बढोत्तरीसँगै औद्योगिक तथा व्यापारिक प्रतिष्ठानको पनि वृद्धि हुँदै गएको छ ।

पूर्वपश्चिम जोड्ने मध्यपहाडी(पुष्पलाल) लोकमार्ग र निर्माणाधीन केरुङ–रसुवागढी–रक्सौल त्रिदेशीय व्यापारिक मार्ग निर्माणका कारणले नुवाकोटको आर्थिक भविष्य सुन्दर बन्दै छ । जिल्लामा भविष्यमा औद्योगिक तथा व्यापारिक चहलपहल बढ्ने नुवाकोटका बासिन्दा बताउँछन् । नुवाकोट हँुदै रसुवाको उत्तरगया धाम र गोसाइँकुण्डलगायत तीर्थ भ्रमण गर्न सकिन्छ । नुवाकोटको विदुरबाट हिँडेको टोलीले नुवाकोटको सूर्यगढी, साततले दरबार, फिकुरी, किस्पाङ गाउँपालिका हुँदै रसुवा जिल्ला गई पाँच दिनमा भ्रमण समापन गर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आईतवार १६:५८