७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

बार्यन म्युनिख ३-२ ले विजयी


१० फागुन, काठमाडौं । जर्मन बुन्डेस लिगामा बार्यन म्युनिखले पाडेरबोर्नलाई ३-२ गोलले हराएको छ । शुक्रबार राति भएको खेलमा लेवान्डोस्कीको निर्णायक गोलसँगै बार्यनले जित आत्मसात् गरेको हो ।

खेलको २५औं मिनेटमा सर्ज गेनाबरीको गोलमा घरेलु टोली बार्यनले सुरुवाती अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम समयमा बार्यनका गोलकिपर म्यानुयल नोयरको गल्तीको फाइदा उठाउँदै पाहुना टोलीका डेनिस श्रीबेनले बराबरी गोल फर्काएका थिए ।

लेवान्डोस्कीले ७०औ मिनेटमा बार्यनलाई पुन अग्रता दिलाए । त्यसको ५ मिनेटपछि पाहुना टोलीका स्टेभन मिचेलले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

बराबरीतर्फ उन्मुख खेलको ८८औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्यनलाई जित दिलाए । जितसँगै शीर्ष स्थानको बार्यनले ४९ अंक पुर्‍याएको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार ०९:०१