१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

१० फागुन, सिमकोट । समाजमा बढ्दो चोरीका घटना धेरैको टाउको दुःखाईको विषय हुन्छ नै तर हुम्लाको उत्तरी भागमा पर्ने हिमालपारिको गाउँ लिमीले भने चोरी नै नहुने गाउँको परिचय बनाएको छ । चोरी गरे पाप लाग्छ भन्ने स्थानीय मान्यताले लिमीका तीनवटै गाउँमा चोरीका घटना नै नहुने गरेको स्थानीय बासिन्दा बताउँछन् ।

धन देखेपछि महादेवका तीन नेत्र उखान गाउँघरमा चलनचल्तीमा रहे पनि चोरी गर्नुलाई गम्भीर पाप गर्नुसरह मान्ने स्थानीय मान्यता छ । यसै मान्यताका कारण नाम्खा गाउँपालिकाको लिमीमा चोरीका कुनै घटना नहुने हल्जी गाउँका खेण्डाप तामाङले जानकारी दिए ।

चोरीका घटना नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पार्नुपर्ने मुलुकका अन्य भागको जस्तो अवस्था लिमी गाउँमा नरहेको खबर गोरखापत्र दैनिकमा छ । चोरीमुक्त भनेर चिनिएका लिमीका तीनवटा तिल, हल्जी र जाङ पर्छन् । यो कुनै नयाँ स्थापना गरेको मान्यता नभई परम्परादेखिकै कसैको कसैले चोरी गर्ने कुप्रवत्ति रहेको छैन  । अन्नपात, लत्ता कपडादेखि भाँडाकुँडा पनि घरको आँगन तथा घरबाहिर नै राखिन्छ ।

चोरी नै नहुने भएपछि लिमीका तीनै गाउँमा घरका सामान आँगन र घरबाहिर राख्ने गरिएको वडाध्यक्ष पाल्जोर तामाङ बताउँछन् । हिउँदमा व्यापार तथा अन्य कामको क्रममा युवा सबै गाउँ बाहिर आयआर्जन गर्न जाने भएकाले गाउँमा बा(लबालिका र बूढाबूढी मात्र बस्ने स्थानीय बासिन्दा बताउँछन् ।

लिमीमा आफ्नै परम्परागत घर निर्माण हुने गर्छन् । ती घरमा कहिल्यै ताला लगाउने चलन नै छैन । चोरी नै नहुने भएपछि तालाको आवश्यकता नपरेको वडाध्यक्ष तामाङले बताए । यसका साथै मानिस हिँड्दा कुनै सामान खसेको भए फेला पार्नेले धेरैले चिनेको स्थानीय व्यक्तिलाई दिने चलन छ । उनीहरूले हराएको सामानबारे सार्वजनिक जानकारी दिन्छन् । त्यो समाज केही समयपछि नै सामान धनीले पाइहाल्छ । त्यसैले कुनै सामान हराए पनि नपाइएला भन्ने चिन्ता नहुने उनले बताए ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार ०८:४४