१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

एमसीसीबारे नेकपा कार्यदलले प्रतिवेदन बुझायो, मुल सम्झाैता बाहेक नै १५ सम्झाैता गरेको खुलासा


९ फागुन, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एसिसी)को अध्ययन गर्न गठित कार्यदलले आज आफ्नो प्रतिवेदन नेकपाका अध्यक्षद्वय अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ । कार्यदलले आजै मात्र अन्तिम रूप दिएको प्रतिवेदन साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर अध्यक्षद्धयलाइ हस्तान्तरण गरेको हो ।

प्रतिवेदन लिएर नेकपा वरिष्ठ नेता समेत रहेका पूर्व प्रधानमन्त्री झलनाथ खनाल जो कार्यदलका संयोजक समेत हुन, स्थायी समितिका सदस्य एवं एमसीसीको बारेमा जनस्तरमा समेत जानकारी हुने गरी बहस सिर्जना गर्ने भीमबहादुर रावल र स्थायी समितिका सदस्य समेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगै गएका थिए ।

तीन हप्ता लागेर कार्यदलले तयार पारेको उक्त प्रतिवेदन ६० पृष्ठको रहेको छ । प्रतिवेदनमा सुझावहरू समेत समेटिएको छ । प्रतिवेदनमा सरकार र एमसीसीबीच भएको सम्झौता विस्तृत रूपमा केलाइएको छ । त्यस्तै इण्डो प्यासिफिकका सम्बन्धमा तथ्यहरुको विस्तृत अध्ययन गरिएको छ । प्रतिवेदनमा मुल सम्झाैता बाहेक पनि अन्य १५ वटा सम्झाैता भएका र ती सम्झाैताका कुन बुँदाले कस्तो दीर्घकालीन असर पर्छ भन्ने सम्मको विष्लेषण गरिएको कार्यदलका सदस्यले बताएका छन । 

स्राेतका अनुसार बाहिर चर्चामा रहेको मुख्य सम्झाैतामा त्यस्ता राष्ट्रहित विपरितको प्रवाधान नभए पनि अन्य सम्झाैतामा राष्ट्रहित विपरितका गम्भीर सर्तहरू उल्लेख गरिएको छ । ती सदस्यले यो प्रतिवेदनपछि पनि एमसिसी जस्ताको त्यस्तै संसदबाट अनुमोदन गराउने कोशिश भए देश दुर्घटनामा जाने चेतावनी समेत दिए ।

पार्टीको गत माघ १५ देखि १९ गते सञ्चालन भएको केन्द्रीय कमिटी बैठकले एमसिसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता खनालको संयोजकत्वमा स्थायी कमिटीका सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको कार्यदल गठन गरेको थियो । दश दिनको समयसीमा तोकेर प्रतिवेदन बुझाउने निर्णय गरे पनि कार्यदलले उक्त समयसीमामा प्रतिवेदन बुझाउन नसकिने जनाई थप दश दिन माग गरेको थियो । कार्यदलको गत माघ २९ गते नै कार्यदलको समय सकिएको थियो । पछि नेकपाले थप दश दिनको समय थपेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १९:३१