८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

आउँदै रेल : छैन जनशक्ति, कसरी चलाउनु ?


९ फागुन, काठमाडौं लामो समयदेखि अवरुद्ध जनकपुर–जयनगर रेल आधुनिक सुविधासहित यसै आर्थिक वर्षभित्र सञ्चालन हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आवभित्रै सुविधायुक्त रेल सेवा सञ्चालन गर्ने कार्ययोजना बनाई काम तीव्र बनाएको छ ।

त्यस क्रममा भारतको चेन्नईमा दुईवटा आधुनिक सुविधाका रेल निर्माण भइरहेका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले भने, “धेरै वर्ष अवरुद्ध रेल सेवा आगामी असारभित्रै सञ्चालनमा आउनेछ । आफ्नै भूमिमा सुविधायुक्त रेल चढ्ने नेपालीको सपना यसै आर्थिक वर्षमा पूरा हुनेछ । ”

उनका अनुसार भारतको चेन्नईमा निर्मित नेपाल ल्याइने दुई मध्ये एउटाको निर्माण सम्पन्न भई सफल परीक्षणसमेत भइसकेको छ । अर्कोको निर्माण एक महिनाभित्र सम्पन्न हुनेछ । जयनगर–जनकपुर ३५ किलोमिटर रेलवे ट्र्याक निर्माण भइसकेको छ । विदेशी प्राविधिकहरू भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम पनि भइरहेको खबर गोरखापत्र दैनिकमा छ ।

भारत सरकारको पूर्ण स्वामित्वमा रहेको कोकन रेलवे कर्पोरेसन लिमिटेडले नेपालका ती दुई रेल बनाइरहेको छ ।

जयनगर–जनकपुर रेलवे ट्र्याक, घर लगायतका संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई हस्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको छ ।

सांकेतिक तस्बिर ।

निर्माणाधीन रेलमा डीईएमयू

चेन्नईमा निर्माणाधीन रेल डिजेटल इलेक्ट्रिफाइड मल्टिपल युनिट (डीईएमयू) प्राविधिको रहेको रेल विभागले जनाएको छ । यस प्राविधिमा डिजेललाई विद्युतीय शक्तिमा रूपान्तरण गरी रेल सञ्चालनमा ल्याइन्छ । एउटा रेल सेटमा पाँचवटा डब्बा (बोगी) जडान गरिनेछ । एक हजार छ हर्ष पावरको सो इन्जिनले प्रतिलिटर ३ किलोमिटर माइलेज दिनेछ । पाँचवटा डब्बामध्ये एउटा एसी रहनेछ ।

रेल आउने भए पनि रेल विभाग अहिले कर्मचारी व्यवस्थापनमै अल्झिइरहेको अवस्था छ । रेल सञ्चालनका लागि कार्यालय सहयोगीदेखि व्यवस्थापक र साधारण प्राविधिकदेखि विशेषज्ञ इन्जिनियरसम्मको जनशक्ति आवश्यक रहे पनि अहिलेसम्म कर्मचारी भर्ना तथा व्यवस्थापनको नाममा कुनै काम अगाडि बढ्न सकेको छैन ।

रेल सञ्चालनमा लागि आवश्यक जनशक्ति व्यवस्थापन कार्य प्रक्रियामा रहेको बताउँदै रेल विभागका प्रवक्ता अमन चित्रकारले रेल सञ्चालनका लागि नेपालमा सम्बन्धित दक्ष तथा अनुभवी जनशक्ति अभाव रहेको अहिलेको अवस्थामा उक्त रेल सेवा सञ्चालनका लागि आवश्यक जनशक्ति आउटसोर्सिङ गरी उपलब्ध गराउनेतर्फ आवश्यक काम भइरहेको जानकारी दिए ।

रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल सञ्चालनका लागि पहिलो चरणमा करिब दुई सय कर्मचारी आवश्यक रहे पनि कर्मचारी भर्नाका लागि तत्काल विज्ञापन गरिहाल्ने अवस्था नरहेको जानकारी दिए । आवश्यक विज्ञ जनशक्ति र कर्मचारीको अभावमा रेल सञ्चालन गर्न नसक्ने उनले बताए । कर्मचारी भर्नाका लागि लोकसेवा र अर्थ मन्त्रालयबाट सहमति प्राप्त भए पनि मन्त्रिपरिषद्बाट निर्णय नभएसम्म तत्काल विज्ञापन खुलाइहाल्ने अवस्था नरहेको उनको भनाइ छ । रेल विभागले विगत ६ महिनादेखि कर्मचारी माग गर्दै आएको छ । रेल सञ्चालनका लागि सुरुमा प्राविधिक टोली भारतबाटै लिनुपर्ने भए पनि प्रशासनिक कार्यका लागि नेपाली कर्मचारी नै भर्ना गर्नुपर्नेछ ।

भाडादर पनि तय
रेल विभागका महानिर्देशक मिश्रका अनुसार नेपाल आउन लागेको रेल ‘डेमो ट्रेनसेट’ हो । एउटा ट्रेनसेटमा अगाडि र पछाडि गरेर दुईवटा इन्जिन हुन्छन् । नेपालतर्फ आउँदा अगाडिको इन्जिन र भारततर्फ फर्किंदा पछाडिको इन्जिनले काम गर्नेछ । त्यसैगरी एउटा ट्रेनसेटमा पाँच डब्बा हुन्छन् । तीमध्ये एउटा डब्बा वातानुकूलित (एसी कोच) हुनेछ । उनले भने, “जयनगरदेखि कुर्थासम्म साधारणतर्फ ६० रुपैयाँ र ‘एसी’तर्फ तीन सय रुपैयाँ भाडादर कायम गर्ने विषयमा छलफल भइरहेको छ । उनले जयनगर स्टेसनमा समेत नेपाली रेल्वे व्यवस्थापन राख्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार ०६:४२