१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

तेस्रो बौद्ध सम्मेलनमा वान कि मुनसहित २१ राष्ट्रका प्रतिनिधिलाई बोलाउने सरकारको तयारी


८ फागुन, काठमाडौं सरकारले आगामी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने तयारी गरेपछि लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । लुम्बिनीलाई प्राथमिकतामा राखेर बौद्ध सम्मेलन गर्नुले यहाँको पर्यटन व्यवसायमा मात्र नभई बृहत्तर लुम्बिनी विकासको योजना अघि बढाउन पनि सहयोग पुग्ने व्यवसायीको भनाइ छ ।

“बौद्ध सम्मेलनले अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको प्रचार हुनुका साथै पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका खेल्छ, त्यसैले पनि सरकारले गरेको निर्णय स्वागतयोग्य छ,” लुम्बिनी होटल एसोसिएसनका महासचिव लीलामणि शर्माले भने ।

सरकारले बुद्ध जयन्ती अर्थात् वैशाख शुक्ल पूर्णिमाको अवसर पारेर हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्दै आएको छ । यसपटकको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव वान कि मुनसहित २१ राष्ट्रका प्रतिनिधिलाई बोलाउने सरकारको तयारी रहेको खबर गोरखापत्र दैनिकमा छ ।

लुम्बिनीमा तेस्रोपटक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुन लागेको हो । लुम्बिनीलाई सरकारले प्राथमिकतामा राखेको भन्दै लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले बौद्ध सम्मेलन सफल पार्न आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने पनि बताएका छन् । सिद्धार्थ होटेल एसोसिएसनका उपाध्यक्ष मेघनाथ आचार्यले बौद्ध सम्मेलनलाई स्थानीय स्तरबाट सहयोग गरिने बताए ।

बौद्ध सम्मेलनले लुम्बिनीको प्रचारमा सघाउ पुगे पनि पर्यटकको बसाइ लम्ब्याउने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने व्यवसायीको भनाइ छ । गौतम बुद्ध र मायादेवीका प्राचीन, ऐतिहासिक कथा तथा बुद्धका सन्देशसमेतलाई समेटेर वृत्तचित्र तयार गरी लुम्बिनी क्षेत्रमा यसको नियमित प्रदर्शन तथा प्रचारप्रसार गर्ने हो भने पर्यटकको बसाइ अवधि लम्बिन सक्ने संस्कृतिविद् गितु गिरीले बताइन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार ०६:४५