४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

काठमाण्डु पोस्टमा प्रकाशित लेख र फोटोले चिनियाँ नागरिकको अपमान भयोः चिनियाँ पत्रकार वर्षा


६ फागुन, काठमाडाैँ । काठमाण्डु पोस्टमा प्रकाशित एउटा समाचार र फोटोको विषयलाई लिएर चिनियाँ नागरिकले आपत्ति जनाएको छ । उनीहरूले प्रकाशित लेख र फोटोले चिनियाँ नगरिकको अपमान गरेको बताएका छन । मंगलबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमा काठमाण्डु पोस्टका सम्पादकका नाममा लामो पत्र लेख्दै चिनियाँ नागरिक चाङ्ग युए (वर्षा) (जो चाइना मिडिया ग्रुपको नेपाल प्रमुख समेत हुन) उनले अपमान हुने सामाग्री प्रकाशन गरेकोमा क्षमा माग्न अनुरोध गरेकी छिन ।

वर्षाले लेखेको पत्र यस्तो छ

आदरणीय सम्पादकज्यू
द काठमाडु पोष्ट
नेपालको संचार क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरिरहेको कान्तिपुर संचारगृहबाट प्रकाशित द काठमाडु पोष्टको यही फागुन ६ गते मंगलबार तदनुसार फेब्रुअरी १८ तारिख प्रकाशित ‘चाइना सेक्रेसी ह्याज मेड कोरोनाभाइरस क्राइसिस मच ओर्स’ शीर्षकको लेखले हामी सबै चिनियाँको अपमान गरेको छ। विदेशी संचारमाध्यममा पहिले नै प्रकाशित लेख भएकाले लेखको बारेमा भन्दा पनि त्यसमा प्रकाशित फोटो आपत्तिजनक छ।
अध्यक्ष माओ चतुङलाई सम्पूर्ण चिनियाँ जनताले उच्च सम्मान र आदर गर्छन्। चिनियाँ जनबैंकले निस्काशन गरेको मुद्रामा आदरणीय अध्यक्ष माओ चतुङको फोटो राखिएको हुन्छ। तपाईंको पत्रिकाले चिनियाँ मुद्रा एक सय युआनको नोटमा अंकित अध्यक्ष माओको फोटोमा मास्क लगाएर चीनको सार्वभौमिकता र चीनप्रतिको घोर अपमान गर्नु भएको छ। यतिबेला चीन कोरोना भाइरसको संक्रमण विरुद्धको युद्धमा दत्तचित्तले लागिरहेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सबै चिनियाँहरुले मास्क लगाउने गरेका छन्।

चिनियाँले मात्र होइन अहिले विश्वका अधिकांश भागमा मास्क लगाउनलाई विश्व स्वास्थ्य संगठनले सबैलाई अपिल गरेको छ। तपाईंलाई चिनियाँले मास्क लगाएको फोटो चाहिएको भए म दिन सक्छु। अथवा इन्टरनेटबाट जतिसुकै खोज्न सक्नुहुन्छ। आधुनिक चीनका महान नेताको अपमान गरेर पत्रिकामा प्रकाशन गर्नु नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई पनि धक्का लगाउनु हो। चीन र चिनियाँलाई घोर अपमान गर्नु हो। हामी चिनियाँहरु नेपाल र नेपालीलाई उच्च सम्मान र माया गर्छौँ।

नेपाल र नेपालीले भोगेका विपत्तिहरुमा चीन र चिनियाँले सक्तो सहयोग गरेकै छन्। कोरोना भाइरसको विद्धरुमा नेपालीहरुले पनि आआफ्नो ठाउँबाट चीन र चिनियाँलाई सहयोग र समर्थन जनाएका छन्। तर एउटा ठूलो राष्ट्रिय दैनिक पत्रिकाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई ख्याल नगरिकन यस प्रकारको फोटो अथवा स्केच प्रकाशन गरेकोमा म खेद प्रकट गर्दछु र यस प्रकारका कार्यको दृढताका साथ विरोध र प्रतिवाद गर्दछु। रोग र संक्रमणको कुनै भौगोलिक सिमा हुँदैन। रोग र विपत्तिले न त कुनै देश विशेष भन्छ न त भौगोलिक सीमा नै मान्छ।

यतिबेला पश्चिमा जगतले चीनमाथि विभेदपूर्ण सामग्री प्रकाशन गरिरहेका बेला चीनकै अशल छिमेकी देश नेपालका सचारमाध्यम पनि पश्चिमा संचारजगतको लहैलहैमा लागेर चीनमाथि हिलो छ्याप्ने र लान्छना लगाउने कार्य चीन र चिनियाँ जनताका लागि कदापि स्वीकार्य छैन । आशा छ नेपाली पत्रपत्रिका र संचार माध्यमले चीनसँगको मैत्री सम्बन्धलाई ख्याल गर्नेछन्। अनि कोरोना भाइरसका विरुद्ध लड्नलाई साथ दिनेछन्। धन्यवाद।

यो पनि पढ्नुहोस्

काठमाण्डु पोस्टको लेख चीनको राजनैतिक प्रणाली माथिको क्रुर आक्रमणः चिनियाँ दूतावास

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार १९:४६