१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

पूर्व सांसद एवं नेपाली कांग्रेस गुल्मीका संस्थापक सभापति भागवत ज्ञवालीको निधन


६ फागुन, काठमाडौँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति गुल्मीका प्रथम सभापति एवं पूर्व सांसद भागवत ज्ञवालीको निधन भएको छ ।  मंगलबार ललितपुरको अल्का अस्पतालमा उपचारका क्रममा ज्ञवालीको निधन भएको हो । स्वर्गीय ज्ञवाली विगत केही समयदेखि अल्सर रोगबाट पीडित रहेको र दिल्लीको उपचारपछि ललितपुरको अल्का अस्पतालमा पुनः उपचार गराउँदै आएका थिए ।

वि।सं। २००१ साल कात्तिक १ गते जन्मिएका ज्ञवाली वि।सं। २०४८ को आम निर्वाचनमा तत्कालीन गुल्मी निर्वाचन क्षेत्र नं। २ बाट प्रतिनिधिसभामा विजयी भएका थिए । त्यस समय ज्ञवाली संसदको मानव अधिकार तथा परराष्ट्र समितिको सभापति समेत भएका थिए । स्वर्गीय ज्ञवालीले नेपालको लोकतान्त्रिक आन्दोलन र कांग्रेसको पार्टी संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।

ज्ञवालीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन । देउवाले शोक विज्ञप्ति जारी गर्दै भनेका छन  “नेपाली कांग्रेस गुल्मीका पूर्व सभापति एवं पूर्व सांसद, गुल्मीका निष्ठावान अग्रज नेता भागवत ज्ञवालीको निधनको समाचारले मलाई अत्यन्त दुःखीत र स्तब्ध बनाएको छ । स्वर्गीय ज्ञवालीले नेपालको प्रजातान्त्रिक÷लोकतान्त्रिक आन्दोलनहरु तथा नेपाली कांग्रेसको संगठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट पार्टीले एक निष्ठावान नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको छ । उहाँको निधनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो दुःख व्यक्त गर्दछु । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामना गर्दछु । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।”

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार ११:२३