७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

खरीपाटी क्‍वारेन्टाइन : मुहार हेर्न अभिभावक आतुर !


५ फागुन, काठमाडौं ‘हेलो, बुबा हामी आयौं ।’ एमबीबीएस अध्ययन गर्न चीन गएकी मीमांशाको बोली सुनेपछि उनका बुवा डा.मोहन खतिवडाले ओढिरहेको सिरक फाले । घरमा ओच्छयानमै रहेका डा. खतिवडा र त्रिभुवन विमानस्थलमा ओर्लिएकी मीमांशाबीच आइतबार बिहान ४ बजेर २५ मिनेटमा फोनमा कुराकानी भएको हो । उनले कोरोना भाइरस (कोभिड–१९) को सामना गरेर स्वदेश फर्किएकी छोरीको सुस्वास्थ्यको कामना गरे ।

मीमांशाले चीनको वुहानबाट उद्धार, त्यसपछि नेपाल आउँदाको क्षणबारे संक्षेपमा सुनाइन् । डा. खतिवडाले पनि भक्तपुर खरिपाटीस्थित क्‍वारेन्टाइनमा बस्ने बन्दोबस्त भएको सुनाए । यसका लागि डा.खतिवडाले सरकार र सञ्चारमाध्यमलाई धन्यवाद दिए ।

‘कोरोना भाइरस संक्रमणको डरबाट मुक्त भयौं । ढुक्कजस्तै भइयो’, उनले भने, ‘तर, चिसो ठाउँमा क्वारेन्टाइन रहेकाले मौसमी फ्लुको डर लागिरहेको छ ।’

चीनको हुबेई प्रान्तको वुहान सहरबाट नेपालीको उद्धारपछि उनीहरूका अभिभावक खुसी भएको खबर अन्नपूर्ण पोस्टमा छ । भाइरस संक्रमणको त्रासबीच उद्धारका लागि सरकारसँग हारगुहार गरेका उनीहरू सन्तानको मुहार हेर्न आतुर देखिएका छन् । १४ दिनसम्म बस्ने क्‍वारेन्टाइनमा कुनै संक्रमण नहोस् भनेर उनीहरूले कामना गरिरहेका छन् ।

राष्ट्रिय ध्वजावाहक विमानमार्फत स्वदेश आएका १ सय ७५ मध्ये अधिकांश विद्यार्थी छन् । सामान्य ज्वरो आएर उतै छुटेका नेपालीप्रति मीमांशाले चिन्ता व्यक्त गरेको डा. खतिवडाले बताए ।

चीनमा एमबीबीएस अध्ययनरत भतिज अनिल यादवको उद्धारमा ढिलाइ नहोस् भनेर हारगुहार गर्ने क्रममा मीना यादव सञ्चारकर्मीसामु रोएकी थिइन् । स्वदेश फर्किएका भतिजसँग कुराकानी गरेको उनले सुनाइन् ।

‘तपाईंहरूले मेरो रुवाइलाई हाइलाइट गर्नुभयो । मिडिया र मानवअधिकार आयोग धन्यवादका पात्र हुन्’, उनले भनिन्, ‘ढिलो भए पनि सरकारले उद्धार गर्‍यो ।’ भतिज यादवसँग आइतबार दुईपटक फोनमा कुराकानी भएने उनले सुनाइन् । क्‍वारेन्टाइनमा नास्ता र खानासमेत खाएको उनले बताइन् ।

तस्बिर : रासस

चीनमै अध्ययनरत छोरीले विमानस्थलबाट फोन गर्दा ललितपुरका नेमकृष्ण ताम्राकार दंग परे । ‘ढिलो उद्धार गरे पनि सरकारलाई धन्यवाद दिनै पर्छ । क्‍वारेन्टाइनको व्यवस्था गरेको छ’, उनले भने, ‘यो अवधिमा पनि छोरीलाई स्वस्थ नै देख्‍न पायौं ।’

अभिभावक र परिवारका सदस्यसँग भेट्ने प्रबन्ध नगरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

भक्तपुरको चाँगुनारायण नगरपालिका ७, खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र भवनमा क्वारेन्टाइन बनाइएको छ । त्यहाँ उनीहरूलाई चौबीसै घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार ०७:०९