४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सागका पदक विजेता सशस्त्र प्रहरी बलका खेलाडीलाई नगदसहित सम्मान


४ फागुन, काठमाडाैँ । १३औं दक्षिण एसीयाली खेलकुद (साग)मा विभिन्न खेल विधामा सहभागी भई पदक जित्न सफल सशस्त्र प्रहरी बल, नेपालका ८० जना खेलाडीहरुलाई कुल २४ लाख ९५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा फागुन ४ गते आयोजित उक्त विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्ण पदक विजेता खेलाडीहरुलाई तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेलले रजत तथा कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरे ।

सशस्त्र प्रहरी बलका खेलाडीहरुले दक्षिण एसीयाली खेलकुदमा स्वर्ण ८, रजत १५ र कास्य २२ गरी कुल ४५ पदक हासिल गरेका थिए । उक्त विशेष समारोहमा दक्षिण एसीयाली खेलकुद (साग)मा व्यक्तिगत खेलतर्फ स्वर्ण पदक विजेता सशस्त्र प्रहरी बलका खेलाडीलाई जनही एक लाख रुपैयाँ तथा रजत पदक विजेतालाई जनही ५० हजार रुपैयाँ र कास्य पदक विजेतालाई जनही २५ हजार नगदसहित सम्मान गरिएको हो ।

यसैगरी सामुहिक खेलतर्फ दुई वा दुई भन्दा बढि विधातर्फ सहभागी भई पदक विजेता खेलाडीहरुलाई प्रतिव्यक्ति स्वर्णतर्फ ५० हजार रुपैयाँ, रजततर्फ २५ हजार रुपैयाँ र कास्यतर्फ १५ हजार रुपैयाँ थप पुरस्कार प्रदान गरिएको छ । सो अवसरमा एथ्लेटिक्सतर्फ अन्तर्राष्ट्रिय खेलमा स्वर्ण पदक विजेता नेपाल एपीएफ क्लवका खेलाडी अजितकुमार यादव लगायत उत्कृष्ट चार जना प्रशिक्षकहरुलाई समेत नगद पुरस्कारसहित सम्मान गरिएको छ ।

सोही अवसरमा नेपाल ओलम्पीक कमिटिका महासचिव तथा नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ, नेपाल जुडो संघका अध्यक्ष दिपकहर्ष बज्रचार्य, एन.आई.सी. एसीया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र अग्नी ईनकर्पोरेट प्रा.लि. (महिन्द्रा)का प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद शर्मा पौडेलले समेत खेलाडीहरुलाई खादा ओढाई सम्मान गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त बिशेष समारोहमा खेलाडी राष्ट्रका गहना भएको चर्चा गर्दै खेलाडीहरुले पदक हासिल गरेर देश र संगठनको शीरलाई उचाईमा पु¥याएको बताए । खेलाडीहरुले आफ्नो क्षमतालाई बचाई राख्न अझै बढि परिश्रम गरेर अझै उत्कृट नतिजा हासिल गर्न निरन्तर लागि रहनुपर्ने उल्लेख गर्दै महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले आफ्ना सबै विधाका खेलाडीहरुका लागि उपयुक्त खेल मैदान तथा उपयुक्त वातारण तयार गरेको बताए ।

उनले भने ‘खेलाडीहरुले संगठनले दिएको श्रोत साधनको उचित उपयोग एवं संरक्षण गर्दै उत्कृष्ट खेल प्रदर्शन गरेर नतिजा दिन सधैं अग्रसर रहनुपर्छ ।’ सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले स्थापनाकालदेखि नै खेलकुद क्षेत्रलाई समेत महत्व दिएर अगाडी बढिरहेको बताउँदै खेलकुदले सामुहिक भावनाको विकास गर्ने हुँदा समेत फौजी संगठनमा खेलकुद गतिविधिको महत्व रहेको उल्लेख गरे ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्राप्त भएको पदकले राष्ट्र, संगठन र आफ्नो नाम समेत उच्च बनाउन सफलभएकोमा खेलाडी तथा प्रशिक्षकहरुलाई बधाई दिँदै संगठनले प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा नागरिकको सेवा, सुरक्षा, सहयोग तथा उद्धारका अलावा खेलकुद क्षेत्रमा समेत आफ्नो सकृय सहभागिता जनाउँदै आएको उल्लेख गरे ।

खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलहरुमा उत्कृष्ट योगदान पु¥याउने खेलाडीहरुको हौसला तथा मनोवल बढाउनको लागि सशस्त्र प्रहरी बल, नेपालले उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्दै आएको चर्चा गर्दै आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बलका खेलाडीहरुले अनुशासित एवं परिश्रमी भई अझ बढि पदक दिलाउन सफल रहने विश्वास व्यक्त गरे । कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृत तथा विभिन्न खेलकुद संघ संस्थाका पदाधिकारी एवं नेपाल एपीएफ क्लवका खेलाडीहरुको उपस्थिती रहेको थियो ।

#सशस्त्र प्रहरी बलबाट प्राप्त समाचार । 

 

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार २१:२४