७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सिस्नुले दिलायो प्रदेश रत्न


४ फागुन, बुटवल । प्रदेश सरकारले प्युठानकी चित्रकली बुढालाई प्रदेश रत्न पदकबाट विभूषित गर्‍यो । उनले प्रदेश ५ प्रमुखको हातबाट पदक लिइन् । पदकले उनको गर्जौ टर्दैन । प्रदेश सरकारले स्थापना दिवस मनाइरहेको बुटवल बहुमुखी क्याम्पसको चौरमा बसिन् र अल्लोका कपडा फिँजारिन् ।

अल्लो सिस्नु प्रजातिको वनस्पति हो । जसबाट धागो बनाइन्छ । धागोबाट विभिन्न कपडा । चित्रकली त्यही सिस्नोबाट बनेका कपडा व्यवसायी हुन् । उनी अल्लोबाटै परिचित छिन् । ‘पदकले त खान दिन्न नि’, उनले भनिन्, ‘दुईचारवटा टोपी बिक्री भए त गर्जो टर्छ ।’ उनलाई सम्मान पाएकोमा भने हर्ष छ ।

चित्रकलीले पदक र प्रमाणपत्र सँगै राखेकी थिइन् । व्यापारमा उनका पतिले सघाइरहेका थिए । उनका उत्पादन किन्नेको चहलपहल थियो । चित्रकलीले १८ वर्षअघि १० हजार रुपैयाँ लगानीबाट व्यवसाय थालेकी थिइन् । अहिले उनी वार्षिक करिब ५० लाख कारोबार गर्छिन् ।

गाउँमा खेर जाने सिस्नो उपयोग गरेर धागो कात्न थाल्दा उनले यसको व्यावसायिक महत्त्व बुझेकी थिइनन् । काम गर्दै गएपछि सामानको माग बढ्दै गयो । अल्लोको अन्तर्राष्ट्रिय बजार हुँदो रहेछ भन्ने उनले पछि मात्रै थाहा पाइन् ।

‘अल्लो त महत्त्वपूर्ण रहेछ । सिस्नोले पैसा फलाएको छ’, उनले भनिन्, ‘पदक पनि त्यसैले दिलायो ।’ उनले परम्परागत रूपमै कपडा बुन्न थालेकी हुन् ।

अहिले अल्लोका पोसाकको माग बढेको छ । चित्रकली अल्लो चिनाउन मेला– महोत्सवसमेत धाइन् । उनी अल्लोको कोट, टोपी, जुत्ता, पछ्यौरा, झोला, पर्स बनाउँछिन् । चित्रकलीको कोठी हिमाल अल्लो उद्योगमा डेढ दर्जनले रोजगारी पाएको खबर अन्नपूर्ण पोस्टमा छ । प्युठान मात्रै होइन, छिमेकी रोल्पा, रुकुम, बागलुङका महिलालाई समेत उनले अल्लोको सामान उत्पादनमा संलग्न गराइन् । तालिम दिइन् ।

अल्लोका उत्पादन स्वदेशमा मात्रै सीमित छैनन् । चित्रकली निर्यात प्रवर्द्धनमा सरकारले सहयोग गर्नुपर्ने बताउँछिन् । उनका अनुसार नेपालमा उत्पादित अल्लोका उत्पादन साउदी, कतार, अस्ट्रेलिया, मलेसिया, थाइल्यान्ड, इजरायल, सिंगापुर निर्यात हुन्छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०७:५०