११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

कार्यालय सहयोगीबाटै विषादी परीक्षण


४ फागुन, काठमाडौं कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा रहेको तरकारी विषादीको परीक्षण कार्यालय सहयोगीले गरिरहेको पाइएको छ । पाँच जनाको दरबन्दी रहेको सो एकाइमा कार्यालय सहयोगीसहित तीन कर्मचारी छन् । कार्यालय सहयोगीसहित तीनैजना कर्मचारी बजारबाट नमुना सङ्‌कलन गरेर ल्याएपछि प्रयोगशालामा परीक्षण गर्छन् ।

फाइल तस्बिर ।

एकाइको कार्यालयमा भेटिएका कार्यालय सहयोगी जसकला एडीले आफूले पनि तरकारीको विषादी परीक्षण गर्दै आएको बताइन् । उनले भनिन्, ‘हामी तीनै जनाले बजारबाट स्याम्पल ल्याएर परीक्षण गर्छौं । सरहरूले परीक्षण गरेको देखेर नै मैले पनि सिकेकी हुँ र त्यसैका आधारमा परीक्षण पनि गर्दै आएकी छु ।’ त्यो एकाइमा अर्गानो फस्फेट र कार्बामेटको मात्र परीक्षण हुने खबर गोरखापत्र दैनिकमा छ ।

एकाइका प्राविधिक जागेश्वर शर्माले जनशक्ति अभावका कारण कार्यालय सहयोगीको पनि सहयोग लिनुपर्ने बाध्यता रहेको बताए । उनले प्राविधिक शर्माले जनशक्ति अभावले जसोतसो काम चलाउनुपरेको र चौबीसै घण्टा चल्नुपर्ने कार्यालय आठ घण्टा मात्र चलेको बताए ।

कालीमाटी तरकारी बजारमा दैनिक तीन हजारदेखि सात हजार टन हरियो तरकारी भित्रिन्छ, साना ठूला गाडी नै तीन सयदेखि चार सयसम्म भित्रिएका हुन्छन् । एकाइमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र कर्मचारीले काम गर्छन् । अधिकांश तरकारी बिनापरीक्षण बिक्री हुने गरेको छ । १२ बजेपछि आउने तरकारीको कुनै परीक्षण हुँदैन । प्राविधिक शर्माका अनुसार दैनिक सात–आठवटा नमुना मात्र परीक्षण हुन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०७:२५