११ बैशाख २०८१, मंगलवार | Tue Apr 23 2024

गिद्धमा ट्रान्समिटर जडान…


४ फागुन, काठमाडौं सिनो खाएर मानिसलाई रोगव्याधिबाट बचाउने हिमाली गिद्धको अध्ययन नेपालमा सुरु भएको छ । प्राकृतिक कुचिकार मानिने हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरेर अध्ययन सुरु गरिएको हो ।

अन्नपूर्ण संरक्षण क्षेत्र आसपासका हिमाली गिद्धको अध्ययन गर्ने उद्देश्यअनुरूप स्याटलाइट जडान गरिएको चराविद् डा. तुलसी सुवेदीले जानकारी दिए । उनले भने, “नेपालमा थालिएको यो अध्ययन विश्वमै दोस्रो हो, जीपीएस ट्रान्समिटर सहितको स्याटलाइटले हिमाली गिद्धको विचरणसँगै यसको गतिविधिको जानकारी दिन्छ ।”

उनका अनुसार अहिलेसम्म तीनवटा हिमाली गिद्धमा स्याटलाइट ट्रान्समिटर जडान गरिएको छ । उमेर बढ्दै जाँदा अल्पवयस्क उमेरमा हिमाली गिद्धको बसाइ सरेर जाने बानी हुन्छ । यस उमेरमा उसले टाढाटाढा विचरण गर्दै यात्राको अनुभव लिने गर्छ । यसरी बसाइ सरेर हिँड्दा हिमाली गिद्ध कुन कुन ठाउँमा पुग्छ र के के गतिविधि गर्छ भन्ने कुरा नै अध्ययनको विषयवस्तु हो ।

हिमाली गिद्धले अन्य प्रजातिका पन्छी र वातावरणमा जनाउने प्रतिक्रिया बटुल्न पनि अध्ययन सहायक हुने अनुमान गरिएको छ । हालसम्म स्याटलाइट जडान गरिएका तीनवटा गिद्धको स्याटलाइटले फरक फरक सूचना दिइरहेको खबर गोरखापत्र दैनिकमा छ । “एउटा हिमाली गिद्ध भारतको मध्यप्रदेश पुगिसकेको खबर स्याटलाइटबाट प्राप्त भएको छ, अर्को गिद्ध सुदूरपश्चिमको खप्तड हुँदै दैलेख, बर्दियाको माथिल्लो भेकमा विचरण गरिरहेको पाएका छौँ,” सुवेदीले भने ।

तेस्रो गिद्ध भने दुई दिन पोखरा घुमेर बुटवल, पूर्व रामनगर हुँदै पाल्पा तानसेनमा डुलिरहेको छ । यसरी तीनवटा गिद्धले तीन फरक-फरक क्षेत्रमा आफ्नो यात्रा गर्दा त्यहाँको रहनसहनसँग घुलमिल हुँदै यात्रामा अघि बढिरहेको पाइएको छ ।

हिमाली गिद्धको ठ्याक्कै सङ्ख्या उपलब्ध नभए पनि नेपालमा १० हजारको हाराहारीमा रहेको अनुमान चराविद् गर्छन् । आईयूसीएनको सूचीमा संकटको नजिक रहेको मानिने हिमाली गिद्धलगायतका गिद्ध प्रजाति प्रकृतिकै कुचीकार मानिन्छ । मानिसले गरेका फोहोर र सिनो खाएर वातावरण सफा राख्ने काम गिद्धले गर्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७६, आईतवार ०७:११