१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

भूकम्प पीडितको अनुदानको पैसामा हरिद्वार घुमेर फर्कियो नुवाकोटका जनप्रतिनिधिको टोली 


-प्रतिमा ढुंगाना

३ फागुन, नुवाकोट । नुवाकोट जिल्लाका विभिन्न १० स्थानीय तहका प्रमुख र उपप्रमुखको टोली भूकम्प पीडितको अनुदानको पैसामा भारतको हरिद्धार लगायतको स्थान घुमेर शनिबार फर्किएको छ । टोली शुक्रबार राति नै काठमाडाैँ फर्किएको भए पनि नुवाकोट चाहिँ शनिबार मात्रै फर्किएको हो ।

भूकम्प पीडितलाइ नक्सा बनाउन सहयोग गर्ने उद्देश्यले भारत सरकारको परियोजना सेवाका लागि संयुक्त राष्ट्र संघ कार्यालय (युएनओपिएस)को प्रायोजनामा नुवाकोटका १२ मध्ये १० स्थानीय तहका प्रमुख र उपप्रमुख भारत घुमेर फर्किएक हुन । उनीहरू माघ २७ गते भारत भ्रमणमा निस्किएका थिए ।

जिल्ला समन्वय समितिका अध्यक्ष सन्तमान तामाङ हरिद्धारमा अर्को साथीको तस्बीर खिच्दै ।

युएनओपिएसकी संयोजक बन्दा सिंहले पत्र लेखेर २६ माघदेखि २ फागुनसम्म भारत भ्रमणका लागि निमन्त्रणा पाठाएकी थिइन । त्यही पत्रको आधारमा पालिकाका प्रमुख र उपप्रमुखले भारतको विभिन्न स्थान घुमेका हुन । भूकम्प पीडितलाइ नक्सा बनाउन अनुदान दिने युएनओपिएस विवादित संस्था हो । जसले नुवाकोटको १० वटा स्थानीय तहमा मात्र काम गरिरहेको छ ।

जिल्लाको दुबै नगरपालिका बेलकोटगढी र विदुर तथा ८ गाउँपालिकाका प्रमुख फर उपप्रमुख भारत गएका थिए । सँगै जिल्ला समन्वय सुमितिका अध्यक्ष सन्तमान तामाङ पनि भारत गएका थिए । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयर गीता दाहाल, बेलकोटगढी नगरपालिकाका मेयर राजेन्द्ररमण खनाल शुक्रबार राति नेपाल फर्किएका हुन । उपमेयर कविता ढुंगाना भने एक दिन अगावै भारतबाट फर्किएकी थिइन ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित लागायत, नेपाल वायुसेवा निगमको विमानमा ।

त्यस्तै दुप्चेश्वर गाउँपालिकाका प्रमुख योविन्द्र सिंह तामाङ र उपप्रमुख अञ्जु आचार्य, तादी गाउँपालिका प्रमुख नारायण प्रसाद पाण्डे र उपप्रमुख इश्वरी उप्रेती, सूर्यगढी गाउँपालिका प्रमुख सन्तबहादुर तामाङ र उपप्रमुख मञ्जु बुढाथोकी, ककनी गाउँपालिकाका प्रमुख मानबहादुर लामा र उपप्रमुख सीता लामा शुक्रबार स्वदेश फर्किएका छन ।

त्यस्तै लिखु गाउँपालिका प्रमुख ध्रुव श्रेष्ठ र उपप्रमुख रोजिना राइ, तारकेश्वर गाउँपालिकाकी उपप्रमुख तारादेवी रिमाल, म्यागङ गाउँपालिकाका प्रमुख आशा तामाङ र उपप्रमुख शान्ति लामा गुरूङ र किस्पाङ गाउँपालिकाका प्रमुख छत्रबहादुर लामा र उपप्रमुख मायादेवी घले न्यौपाने पनि युएनओपिएसको प्रायोजनामा भारत घुमेर शुक्रबार स्वदेश फर्किएका छन ।

पूर्व भारतीय राजदूत मञ्जिवसिंह पुरीसँग सामूहिक तस्बीर खिचाउँदै नेपाली टोली ।

भूकम्प पीडितको अनुदानको पैसामा युएनओपिएसले जनप्रतिनिधिलाइ भारत घुमाएको हो । भारत सरकारले नुवाकोटमा २३ हजार ८८ भूकम्पपीडित घरधनीलाई सामाजिक प्राविधिक सहजीकरणका लागि खर्च गर्ने रकमभित्र नै जनप्रतिनिधको यो भ्रमण तय गरेको थियो । जनप्रतिनिधिहरू खुशी भएरै भारत घुमेर स्वदेश फर्किएका छन । प्रमुख र उपप्रमुख दुबैलाइ भारत भ्रमण गराएर आफ्नो परियोजना सफल भएको सन्देश प्रवाह गर्ने तयारीमा युएनओपिएस लागेको छ ।

 यता नुवाकोटका जनताहरूले भने भूकम्प पीडितको अनुदानको पैसामा प्रमुख र उपप्रमुख दुबै जना भारत गएर के ल्याउनु भयो भन्दै प्रश्न गर्नुपर्ने भनेर सामाजिक सञ्जालमा असन्तुष्टि जनाइरहेका छन । विदेश जाँदा यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनुमति लिनुपर्ने नीतिगत व्यवस्था थियो तर नुवाकोटका जनप्रतिनिधले युएनओपिएसको प्रायोजनामा भारत जाँदा सामान्य पक्रिया समेत पूरा नगरेको पाइएको छ । तस्बीरहरूः पत्रकार महासंघका सचिव उदय जिएमको फेसबुकबाट साभार ।

यो पनि पढ्नुहोस्

-विवादित संस्थाको प्रायोजनमा निर्लज्ज बनेर भारत घुम्न जान्नः अध्यक्ष वस्ती

-नुवाकोटका १० स्थानीय तह ६ दिन ठप्प, युएनओपिएसको प्रायोजनामा जनप्रतिनिधि भारत उड्दै

प्रकाशित मिति : ३ फाल्गुन २०७६, शनिबार २१:२६