१५ चैत्र २०८०, बिहीबार | Fri Mar 29 2024

आजै मात्र गर्ने हो र प्रेम ?


२ फागुन, काठमाडौं ।  हामी आफ्नाभन्दा पनि अरुका कुरा राम्रा मान्छौं । राम्रा ठान्छौं । आफ्ना कुरा जोगाउँदै अरुका अँगाल्नु अवस्था हेरी ठीकै होला तर आफ्ना सबै बिर्संदै अरुका मात्र अँगाल्नु भने राम्रो होइन ।

आज फेब्रुअरी १४ । अर्थात् भ्यालेन्टाइन डे, नेपालीमा भन्नुपर्दा प्रणय दिवस वा प्रेम दिवस । उसो हामी पूर्वीया दर्शनमा विश्वास गर्ने तर पश्चिमा संस्कृतिलाई पनि उत्तिकै मान्यता दिने स्वभाव भएकाले पनि भ्यालेन्टाइन डे ले नेपालमा पनि राम्रै प्रभाव पारेको देख्न सकिन्छ ।

अझ भन्नुपर्दा नेपालीहरु स्वभावैले कोमल हृदयका, त्यसमा अझ प्रेम गर्नमा झन् माहिर । यसमै प्रेम दिवस पर्नु नेपालीलाई एउटा गज्जबको बहाना हुने भयो नै । प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे नेपालमा विशेषगरी युवा जमातमा क्रेज बढ्दो छ । युवाहरुलाई यसलाई साता दिनसम्मै चाडका रुपमा लिने गरेका छन् । अझ अविवाहित युवा-युवती यसलाई उत्सवकै रुपमा लिएको हामी पाउन सक्छौं ।

अझ भ्यालेन्टाइन डेले नेपालको सहरी समाजमा त संस्कृतिकै रुपमा मनाउने गरेको पाउँछौं । आजको दिनमा प्रेमी-प्रेमिका एक-अर्कालाई उपहार दिएर माया दर्साउने गर्छन् । आपसमा आकर्षित मात्र छन् भने प्रेम प्रस्ताव पनि राख्छन् । अझ प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर आपसमा प्रस्ताव राख्ने गर्छन् ।

तस्बीरः कलाकार सुनिता दोङकको ओ मेरी भ्यालेन्टाइन बोलको म्युजिक भिडियोबाट ।

पहिले त यस्तो थिएन । प्रेम दर्शाउन आजैको दिन कुर्नुपर्ने हो र ? भ्यालेन्टाइन डेबाहेक अरु दिनमा प्रेमी-प्रेमिकाबीच उपहार आदान-प्रदान गर्नुपर्दैन र ? अनि प्रेमको भावना प्रकट गर्न वर्षदिनमा आजैको दिन मात्र हो र ? वास्तवमा यो तीतो यथार्थ हो । नेपाली हरेक समयमा प्रेम गर्न सक्छौं । यसका लागि दिन-बार कुरिरहन आवश्यक पर्दैन । मात्र मन भए पुग्छ ।

गुलाबको फूल पनि चाहिँदैन, मन भए गुर्धौली या अरु कुनै फूल भए नि हुन्छ । अनि उपहारका लागि ठूलै कसरत पनि गर्नुपर्दैन रुमालै दिए पनि पुग्छ । अर्थात् प्रेम गर्नलाई विशेष दिन कुर्नै पर्छ भन्ने छैन । जुनसुकै दिनमा प्रेम गर्न सकिन्छ ।

उसो त पश्चिमा मुलुकमा गुलाबको फूल दिएर ह्‍याप्पी भ्यालेन्टाइन डे, आई लब यू भने यो प्रेम जुगजुग टिक्छ भन्ने विश्वास छ । जसलाई दिनको अवसरका रुपमा पनि लिइएको छ । अझ युवापुस्ताले गुलाबको फूलसँग जुन भावना साट्छ त्यो दिगो रहन्छ भन्ने मान्यता छ । अझ प्रेमको भावना दर्शाउन वर्षौंदेखि नसकिरहेको अवस्थामा यो दिनलाई अवसरकै रुपमा लिइएको पाइन्छ ।

नेपालमा यसको क्रेज त सामाजिक सञ्जालमा पनि छताछुल्ल देख्न सकिन्छ । विवाहित भए जोडीको तस्बिर, अविवाहित भए आफूले माया गरेको व्यक्तिको तस्बिर या भावना सेयर भइरहेकै छन् । युवापुस्ताले १४ फेब्रुअरी अर्थात् आजको दिन भ्यालेन्टाइन डेलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा पनि लिएका छन् ।

आजको दिनमा नजिकै भए भेटेर रातो गुलाब तथा मनपर्ने उपहार दिएर प्रेमलाई थप गाढा बनाउने प्रयास गरिन्छ भने टाढा भए नयाँ प्रविधिको सहारा लिएर भए पनि भ्यालेन्टाइन डे मनाउने चलन छ ।

प्रेम व्यक्त गर्नकै लागि अहिले गिफ्ट सपहरुमा किनमेल गर्नेको भीड देख्न सकिन्छ । आजको दिनमा उपहारकै लागि ग्राहकको आगमन बढ्ने गरेको व्यवसायीहरुको पनि अनुभव छ । भ्यालेन्टाइन डेका लागि पोस्टकार्ड, पुतली, प्रेम अंकित कप, खेलौना, पर्फ्युम, चकलेट तथा आफ्नो मायालुलाई मनपर्ने कुरा उपहारमा दिने चलन छ । यसबेला गुलाबको फूलसँगै अन्य उपहार सामग्रीको व्यापारमा पनि बढोत्तरी हुनु स्वभाविकै हो ।

भ्यालेन्टाइन डेको इतिहास :

भ्यालेन्टाइन डेको आरम्भ इस्वी संवत् २६९ मा रोमबाट सुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लंघन गर्ने घोषणा गरे ।

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुन्डनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए । भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो ।

प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानीको सम्मानमा सोही दिनलाई भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको पश्चिमा कथन छ ।

तर, आजैका दिनमा मात्र प्रेम गर्नुपर्छ, आजकै दिनमा मात्र उपहार दिनुपर्छ भन्ने सोच राख्नुभन्दा हरेक समय प्रेममा डुबे त्यो जति जीवनको सौन्दर्य अरु के नै हुन सक्ला र ? जे होस् सबैमा ह्‌याप्पी भ्यालेन्टाइन डे । प्रणय दिवस सबैको सुखमय बनोस् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ०७:४६