१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान शुरु


१ फागुन ,खस्यौली । राष्ट्रिय दादुरा रुबेला प्रदेशस्तरीय खोप अभियान आजदेखि रुपन्देहीको सैनामैना नगरपालिका–४ स्थित मुर्गियाबाट शुरु भएको छ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले एक नाबालकलाई पोलियो थोपा खुवाएर अभियानको शुभारम्भ गर्नुभयो । रुपन्देहीमा तीन चरणमा एक लाख नौ हजार ७९९ बालबालिकालाई दादुरा रुबेला र एक लाख ३० हजारलाई पोलियो थोपा खुवाउने कार्यक्रम रहेको छ ।

फागुन १ देखि ९ गतेसम्म सात पालिका, फागुन १३ देखि १७ एक नगरपालिका र फागुन १६ देखि २४ गतेसम्म आठ पालिकाका ८१४ खोपकेन्द्रमा पोलियो थोपा तथा खोप लगाइने बताइएको छ । त्यसका लागि ९२८ कर्मचारी र एक हजार ६२८ स्वयंसेवक परिचालन भएको स्वाथ्य कार्यालय, रुपन्देहीका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल प्रदेशको गौरवको आयोजना भएको उल्लेख गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारमा चुनौती भएकाले प्रादेशिक अस्पतालको सटर हटाइएको जानकारी दिनुभयो । उहाँले उक्त अस्पताललाई विशेषज्ञ सेवा पाउने अस्पतालको रूपमा समेत रुपान्तरण गर्न खोजेको बताउँदै अझै पनि स्वास्थ्य सेवा नागरिकको पहुँचमा पुग्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

“स्वास्थ्यलाई मौलिक हकका रूपमा आत्मसात गरिएको छ र सरकारले आधारभूत स्वास्थ्य सेवा निःशुल्कसमेत भनेको छ, तर व्यवाहरिकरूपमा त्यस्तो देखिएको छैन”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । राष्ट्रियसभामा सत्तारुढ दलका सचेतक खिमलाल भट्टराईले जनताको स्वास्थ्य अधिकारप्रति सबैको साझा दायित्व आवश्यक भएको बताउनुभयो ।

सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सकसहितको सेवा नगरपालिकामा शुरु भएको जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा राजेन्द्र गिरी, स्वास्थ्य अधिकृत वसन्तकुमार श्रेष्ठलगायतले पोलियो थोपा र खोपको फाइदाका विषयमा जानकारी दिनुभएको थियो । सङ्घीय सरकारले ३० लाख बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप प्रदान गर्ने र तराईका १९ जिल्लाका बालबालिकालाई पोलियो थोपा खुवाउने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार १५:४३