८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

स्थानीय उत्पादन खान नजान्दा कुपोषण


१ फागुन, डडेलधुरा । किशोरमै आमा बनेकी रेवती सार्कीको पहिलो सन्तान ३ वर्षका भए । नौ महिनाअघि दोस्रोपटक उनले जुम्ल्याहा (एक छोरा र एक छोरी) जन्माइन् ।

स्वस्थ जन्मिएका जुम्ल्याहामध्ये अहिले छोरीलाई कुपोषण भयो । छोरा भने स्वस्थ र निरोगी छन् । कुपोषण भई तौल कम भएकी पाँच किलोकी छोरीसहित सार्की यति बेला पोषण पुनर्स्थापना केन्द्रमा छिन् । छोरी कसरी कुपोषित भइन् भन्ने कुरा यी २२ वर्षीया आमालाई थाहा छैन । कुपोषण पुनर्स्थापना केन्द्रमा पोषण र हेरचाह पाएपछि उनकी छोरीको तौल विस्तारै बढिरहेको केन्द्रका अनमी पार्वती ओझाले बताइन् ।

सांकेतिक तस्बिर ।

डोटी गैराकी २१ वर्षीया डम्बरी ओली दोस्रोपटक आमा बनेको ११ महिना भयो । उनको पहिलो छोरी चार वर्षकी भइन् । दोस्रो छोरी भने कुपोषणका कारण कम तौलकी छन् । “खोप लगाउन जाँदा छोरीको तौल कम भएको थाहा पाएँ”, एक वर्ष पुग्नै लाग्दा पनि जम्मा ६ किलोकी छोरी लिएर पोषण पुनर्स्थापना केन्द्र आएकी ओलीले भनिन् ।

खेतीपाती गर्ने ओलीको परिवारमा खानेकुराको अभाव छैन । घरमै अन्न, गेडागुडी, हरिया सागपातलगायत पोसिला वस्तु खुवाउन सकिन्छ । “बच्चाले खाँदैन भनेर खानेकुरा खुवाइएन । आफ्नै घरको खानेकुरा पनि मिलाएर खुवाए हुने रहेछ”, ओलीले भनिन्, “यहाँबाट बच्चालाई खानेकुरा बनाउन सिकेको छु । अब घरमै खुवाउँछु । ” शिशुलाई जन्मेको ६ महिनापछि पोसिलो अन्न खुवाए कुपोषणबाट बचाउन सकिने रहेछ भन्ने कुरा कुपोषण पुनर्स्थापना केन्द्र आएर थाहा पाएको उनले बताइन् ।

बैतडी, अनारखोलीकी राजेश्वरी चन्दले सुत्केरी अवस्थामा रक्तअल्पता भएपछि नवजात छोरीलाई पर्याप्त दूध चुसाउन पाइनन् । पछि पोसिलो खाद्यपदार्थ पनि खान नमानेपछि उनको छोरीको तौल बढेन । डेढ वर्षकी छोरीको जम्मा साढे ६ किलो भएपछि उनी पनि अहिले पुनर्स्थापना केन्द्रमै छिन् । पुनर्स्थापना केन्द्रमा १८ दिन राखेपछि अहिले छोरीको तौल ८ किलो पुगेको छ ।

डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा दुई वर्षदेखि पोषण पुनर्स्थापना केन्द्र सञ्चालन भएको खबर गोरखापत्र दैनिकमा छ । कुपोषण भएका बालबालिकालाई आवासीय सुविधासहित पोषण पुनर्स्थापना गरिन्छ । यहाँ आउने अधिकांश बालबालिकाका अभिभावकलाई पोषणको ज्ञानको कमीका कारण सन्तानलाई कुपोषण हुने गरेको अनमी ओझाको अनुभव छ ।

“खान नपाएरभन्दा खान नजानेर कुपोषण भएको देखिन्छ । बालबालिकालाई घरमै भएको अन्नपात र फलफूल पनि खुवाउन जानेको देखिएन”, उनले भनिन्, “साना र ठूलाले खाने खाना एउटै हुँदा पनि कुपोषण भएको पाउँछौँ ।” धेरैजसो किसान, मजदुर, गरिब तथा दलित परिवारका बालबालिका कुपोषणको समस्या लिएर केन्द्र आउने गरेको अनमी ओझाको भनाइ छ ।

केन्द्रमा डडेल्धुरा, बैतडी, डोटी र अछामबाट बालबालिका कुपोषणको समस्या लिएर आउने गरेको केन्द्रकी कार्यक्रम व्यवस्थापक पूजा चन्दले बताइन् । केन्द्रले १४ वर्षमुनिका बालबालिकालाई पोषण पुनर्स्थापनाका लागि राख्ने गरेको छ । उमेरअनुसार तौल नपुगेका बालबालिकालाई सामान्य तौल नपुग्दासम्म पोषण दिई घर पठाइन्छ । आमालाई पनि केन्द्रमै राखी बालबालिकालाई पोसिलो र सन्तुलित खानेकुरा बनाउने तरिका सिकाएर पठाइन्छ । आमालाई सरसफाइ तथा स्वास्थ्य शिक्षा दिएर पठाउँदा भविष्यमा घरमै पोषण पूर्ति हुने गरेको चन्दको भनाइ छ । केन्द्रमा बालबालिकालाई राखी पोषण दिएपछि आमाको समेत स्वास्थ्यमा सुधार देखिएको उनले बताइन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०६:३८