४ बैशाख २०८१, मंगलवार | Tue Apr 16 2024

सार्वजनिक शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्छः सहकारीमन्त्री थापा


२९ माघ, गोरखा । गण्डकी प्रदेशका भूमिव्यवस्था कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले सार्वजनिक शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्ने बताउनुभएको छ । गोरखा नगरपालिका–२ स्थित श्री महालक्ष्मी माविको ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले नेपालका सामुदायिक विद्यालयको शैक्षिकस्तरलाई वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

“शिक्षालाई प्राविधिक र प्रयोगात्मक बनाउनुपर्ने जरुरी छ”, मन्त्री थापाले भन्नुभयोे, “अहिले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको छ, त्यसतर्फ ध्यान पुर्याउनु आवश्यक छ ।” सरकारले शिक्षा क्षेत्रका लागि ठूलो लगानी गरेको भए पनि अपेक्षाकृत नतिजा दिन नसकेको मन्त्री थापाको भनाइ छ ।

मन्त्री थापाले सरकारले व्यावसायिक आधुनिक खेती गर्ने कृषकलाई राज्यले उचित अनुदानको व्यवस्था गर्दै आएको भन्दै व्यावसायिक खेतीमा लाग्न कृषकलाई आग्रह गर्नुभयो । “विपन्न र गरिब किसानलाई आत्मनिर्भर र आर्थिक टेवा पुर्याउन व्यावसाियक खेती आधार हो, त्यसका लागि राज्यले अनुदान सहयोग गर्छ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार १५:४३