१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

त्रिकोणात्मक सिरिजमा अमेरिकाविरुद्ध नेपालको शानदार जीत


२९ माघ, काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लीग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकालाई पराजित गरेको छ । बुधवार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो । यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । यसअघि जिम्बाब्वे पनि श्रीलङ्का विरुद्ध सन् २००४ मा १८ ओभरमा ३५ रनमा नै समेटिएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ६ विकेट लिएका थिए भने सुशान भारीले ४ विकेट लिए । ३६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले पाँच ओभर दुई बलमा दुई विकेट गुमाएर जित हासिल गरेको हो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ र पारश खड्काले २० रन बनाए । योसँगै नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक शृङ्खला समाप्त भएको छ । प्रतियोगितामा नेपालले दुई जित र दुई हार व्यहोर्दा ओमानले चार जित हासिल गरेको छ ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ११:१८