७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

सर्वेन्द्र खनालको विदाइ बहिष्कार गरेका डिआइजी अधिकारीले भने ‘दलाल साम्राज्य मुर्दावाद’


२९ माघ, काठमाडौँ । ३० वर्षे सेवा अवधिका कारण प्रहरी नेतृत्वबाट विदा भएका सर्वेन्द्र खनाल उनकै व्याचका वरिष्ठ प्रहरी अधिकृतको बहिष्कारमा परे । प्रहरी प्रमुख भएको दिन हाइहाइ भएका खनाललाई उनकै व्याचका वरिष्ठ प्रहरी अधिकृतहरूले बाइबाइ गर्न समेत लायक ठानेनन् ।

बढी नै व्यक्तिवादी भएको आरोप खेपेका खनालको विदाइ कार्यक्रम १६ वरिष्ठ अधिकृतले सामूहिक रूपमै बहिष्कार गरे । उनको विदाइमा सहभागी हुने भन्दा बहिष्कार गर्ने प्रहरी अधिकारीको संख्या बढी हुन पुग्यो  । खनालसँगै ३० वर्षे सेवा अवधिका कारण सेवाबाट विदा भएका डिआइजी पिताम्बर अधिकारीले त उनलाइ दलालको संज्ञा दिए ।

अधिकारीले समाजिक सञ्जाल ट्वीटरको माध्यमबाट खनालप्रति कटाक्ष गरेका छन । उनले नेपाल प्रहरी अब व्यवसायिक बनोस भन्दै दालालहरूको चक्रव्यूहमा फस्न नहुने उल्लेख गरेका छन । अधिकारीले लेखेका छन ‘अब नेपाल प्रहरी ब्यवसायिक बनोस दलालहरुको ब्युहमा नफसोस । दलाल साम्राज्य मुर्दावाद ।’

योसँगै अधिकारीले खनाललाई दलालको संज्ञा दिए । यसले प्रहरी संगठन कुन अवस्थामा पुगेको रहेछ भनेर बुझ्न कठिन हुँदैन । हुनपनि पछिल्लो समय जनमानसमा प्रहरीप्रतिको धारणामा परिवर्तन हुँदै आएको छ । धेरैले प्रहरीप्रति डर र भर दुबै हराएको बताउँदै आएका छन । सांसद कोमल वलीले त राष्ट्रियसभाको बैठकमै  डर र भर दुबै हराएको प्रहरी संगठन भन्दै व्यग्य गरेको थिइन ।

खनालको विदाइमा प्रहरी प्रधान कार्यालयभित्रै रहेको अपराध अनुसन्धान विभागमा कार्यरत एआइजी पुष्कर कार्की, अर्का एआइजी ठूले राई र एआइजी धिरु बस्न्यातले सहभागिता जनाएनन् । उनीहरूले खनालबाट भएका अहमता, मपाइँत्व र गलत कार्यशैलीको विरोधस्वरूप बहिष्कार गरेको बताएका छन ।

प्रकाशित मिति : २९ माघ २०७६, बुधबार ११:४४