१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

नारायणीमा पानी जहाज सरर, अनलाइन बुकिङ खुल्दै


२८ माघ, चितवन । नारायणी नदीमा आगामी फागुनदेखि क्रुजसिप (सानो पानीजहाज) सञ्चालनमा आउने भएको छ । भरतपुर महानगरपालिका–१६ मा क्रुजसीप निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सरकारले पानी जहाजसम्बन्धी उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै यहाँ जहाज निर्माण आरम्भ भएको थियो । क्रुजसिप निर्माण गर्दै गरेको राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार पानीजहाजसम्बन्धी उद्योग दर्ताको प्रावधान नभएकाले काममा केही ढिलाइ भएको थियो ।

मन्त्रिपरिषद् बैठकले उद्योग दर्ता गर्न पाउने निर्णय गरेसँगै अगामी महिनादेखि सानो जहाज सञ्चालनमा ल्याइने जानकारी दिए । उनले भने, “बाहिरको एसीपी लगाउन र सिसा राख्न बाँकी छ, केही दिनमा काम सक्छौँ ।” उनले १० दिनभित्र अनलाइन बुकिङ आह्वान गर्ने जानकारी समेत दिए ।

क्रुजसिपमा बिहानी खाना (ब्रेकफास्ट क्रुज), दिवा खाना (लन्च क्रुज) र रात्रिकालीन खाना (डिनर क्रुज) का लागि अनलाइन बुकिङ खुला गरिँदै छ ।

बाहिर तयारी खाना क्रुजमा तताएर खुवाउने समेत व्यवस्था मिलाइँदै छ । जहाजभित्रै गायकको गीतमा पर्यटक रमाउन सक्नेछन् । बारहरू रहनेछन् । भुइँतलामा ९० कुर्सी, बीचमा ११० र छतमा २० जना बस्न मिल्ने प्रबन्ध निर्देशक कँडेलले जानकारी दिए ।

दोस्रोतलाको बाहिर बसेर समेत यात्रा गर्न सक्ने व्यवस्था मिलाइएको छ ।  क्रुजको ब्रेकफास्टमा दुई घण्टाको यात्रा र लञ्च र डिनरमा तीन–तीन घण्टाको यात्रा गराइनेछ । यात्राका क्रममा काभ्रेघाटबाट सुरु यात्रा देवघाट हुँदै फर्किएर गोलाघाटसम्म बाह्य दृश्य हेरेर यात्रु रमाउन सक्नेछन् ।

नेपालमा व्यावसायिक रूपमा सञ्चालन गर्न लागिएको यस प्रकारको क्रुज पहिलो रहेको बताइएको छ । ज्ञानेश्वर सामुदायिक वनसँगै नारायणी नदी छेउमा जहाज निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यसको सुरक्षा, सेवाग्राहीको सुरक्षा, वातावरणीय संरक्षणमा ध्यान दिँदै विशेष सावधानीका साथ क्रुज निर्माण र पूर्व तयारी गरिरहेको उनले बताए ।

क्रुजसिपको सञ्चालनका लागि आवश्यक ३ ‘क्रु मेम्बर’ र प्राविधिक हाललाई विदेशी छन् । दीर्घकालीन रूपमा नेपाली जनशक्ति नै उत्पादन गर्न आवश्यक तालीम केन्द्र सञ्चालन गर्ने जनाइएको छ । क्रुजको निर्माण भारतीय कम्पनी ग्रान्डडुर मारिन इन्टरनेसनलले गरेको हो । क्रुजमा दुई इन्जिन छन् । क्रुजको गति प्रतिघण्टा ३५ किमि हुनेछ । क्रुज निर्माण गत वर्षको चैतबाट थालिएको हो । क्रुज निर्माणका लागि रु १५ करोड हाराहारी खर्च भएको जनाइएको छ । –रासस

प्रकाशित मिति : २८ माघ २०७६, मंगलवार ०७:२३