११ बैशाख २०८१, मंगलवार | Wed Apr 24 2024

अध्यक्ष प्रचण्डद्वारा नुवाकोटकाे किस्पाङमा नवनिर्मित विद्यालय भवनकाे उद्घाटन


२७ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नुवाकोटको एक सामुदायिक विद्यालयको भवन उद्घाटन गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार भारत सरकारद्वारा निर्मित किस्पाङकाे ऐँसेलुभूमे माध्यमिक विद्यालयको भवन उद्घाटन गरेका हुन् । नयाँ संरचनाको भवनमा तीनवटा ब्लकहरु निर्माण भएक छन् भने विद्यालयको तीनतले शैक्षिक भवनमा ६ वटा कक्षाकोठा रहेका छन् । दुई तले शैक्षिक भवनमा चारवटा कक्षाकोठाका साथै फर्निचर र छात्र छात्राका लागि छुट्टै शौचालयको सुविधा रहेको छ ।

नेपालस्थित भारतीय दूतावासले जारी गरेको विज्ञप्तिमा शिक्षा मन्त्रालयको केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले सो परियोजनाको कार्यान्वयन गरेको उल्लेख छ ।

साे भवनकाे उद्घाटन समारोहमा उर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनको समेत उपस्थिति रहेकाे थियो । भारतीय दूतावासको तर्फबाट दूतावासको पूनर्निर्माण प्रभागका प्रथम सचिव सुचिता किशोरको पनि उपस्थिति रहेकाे थियो ।

नेपाल सरकारको राष्ट्रिय परीक्षा बोर्डबाट सम्बन्धन प्राप्त ऐँसेलुभूमे माध्यमिक विद्यालय सन् १९९० (वि.सं. २०४६ साल) मा स्थापना भएको हो । हाल यस विद्यालयमा करिब ६३७ विद्यार्थीहरु अध्ययनरत छन् । भारत सरकारले नेपाली रूपैयाँ ३९.५७ मिलियन अनुदान सहयोगमा भवनकाे निर्माण गरेकाे हाे ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार १७:४३