६ बैशाख २०८१, बिहीबार | Thu Apr 18 2024

प्रहरीमा फेरि पनि डीआईजीबाटै आईजीमा बढुवा ! प्रहरी संगठन अझै कमजोर बन्ने संकेत


२७ माघ, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल भोलि (माघ २८ गते मंगलबार) बिदा हुँदै छन् । ३० वर्षे सेवा अवधिका कारण उनको बिदाइ हुन लागेको हो । उनको बिदासँगै नेपाल प्रहरीले नयाँ महानिरीक्षक (आईजीपी) पाउनेछ । आईजीपी खनालसँगै ३ एआईजी र १८ डीआईजीले पनि एकैपटक अवकाश पाउँदै छन् । खनालसँगै एआईजी पुष्कर कार्की, धीरु बस्न्यात र ठूले राई अवकाशमा जाँदै छन् ।

यस्तै अवकाश पाउने डीआईजीमा राजेन्द्रमान श्रेष्ठ, मनोज न्यौपाने, महेन्द्र पोखरेल, नारायणसिंह खड्का, सुरेशविक्रम शाह, महेशविक्रम शाह, पीताम्बर अधिकारी, केदार रिजाल, शेरबहादुर बस्नेत, दिनेश अमात्य, कमल जीटी, सुरज केसी, रामप्रसाद श्रेष्ठ, पूर्णचन्द्र जोशी, विकास श्रेष्ठ, हरिभक्त जोशी, विनोद शर्मा घिमिरे, दानसिंह बोहोरा छन् ।

यता एसएसपी दिलीपसिंह बस्नेतले पनि भोलि नै अवकाश पाउँदै छन् । आईजीपी खनालसँगै सबै २९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । एकैदिन सेवा प्रवेश गरेकाले उनीहरू सबै एकदिन अवकाश पाउन लागेका हुन् ।

उता भोलि बिदा हुन थालेका आईजीपी खनाल भने आफ्नो कार्यकालमा विवादै-विवादको भूमरीमा फसेको जगजाहेरै छ । उनकै पालामा कुमार पौडेल हत्या, पाँचथरमा एकपरिवारका ५ जनाको सामूहिक हत्या भएका छन् । इन्काउन्टर उनकै पालामा खुब चर्चित शब्द बन्यो । कञ्चनपुरको निर्मला पन्त हत्या भनौं या ट्रकले बाँकेको कोहलपुरमा एक विद्यार्थी किचेपछिको आक्रोशमा भनौं आईजीपी खनालको भूमिका निकै विवादास्पद रह्यो ।

उनी पत्रकारसँग नजिकको सम्बन्ध राख्न खोज्ने आईजीपीका रुपमा परिचय बनाए पनि उनीहरुकै खेदो खन्न माहिर मानिन्छन् । जनताको काम, देशको कामभन्दा पनि आफ्ना आसेपासेलाई सरुवा, बढुवा गर्ने, अवसर दिइरहने प्रवृत्तिले समेत खनाल बिदा हुने बेलामा निकै आलोचित भएर जाँदै छन् । आफ्नो ५ महिने सेवा अवधि थप्न निकै हतकण्डा अपनाएका खनालले जोरबल चलाउन शक्ति केन्द्र धाउनुका साथै विभिन्न शक्ति परिचालन गर्न समेत भ्याएका थिए ।

सम्भवत: आजै साँझ मन्त्रिपरिषद् बैठक बसेर ज्ञवालीलाई नयाँ आईजीपीका रुपमा प्रस्तुत गर्ने सरकारको तयारी छ । प्रदेश १ को प्रहरी मुख्यालय विराटनगरका प्रमुख ज्ञवाली र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत लम्साल बिदामा काठमाडौं आइपुगेका छन् ।

डीआईजी ज्ञवाली र लम्साल २०४७ असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । वर्तमान आईजीपी खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल पनि सेवा प्रवेश गर्दा वैकल्पिक उम्मेदवार भएका कारण ५ महिना ढिलो नियुक्ति पाएका थिए । तसर्थ अब बन्ने आईजीपीको कार्यकाल भने ५ महिना मात्र रहनेछ । सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि परेको हुँदा उनी आईजीपीको प्रतिस्पर्धामा पछि परेका हुन् ।

खनाल २६औं आईजीपी हुन् भने अब बन्ने आईजीपी २७औं हुनेछन् । हुन त प्रहरी संगठनमा अवकाशअघि एक महिना बिदा बस्ने चलन छ तर आईजीपी खनाल भने आजसम्म पनि बिदा बसेका छैनन् । २४औं आईजीपी उपेन्द्रकान्त अर्याल पनि अन्तिम दिनसम्म बिदा बसेका थिएनन् । सामान्यत: आईजीपी अवकाश हुनुभन्दा एक महिनाअघि बिदा बसेर भावी नेतृत्वकर्तालाई कायममुकायम दिने चलन हुन्छ । सरकारले नयाँ आईजीपीको नाम तय नगर्दा खनालले एकमहिने बिदा नपाएका हुन् ।

नेतृत्व विकास प्रणाली नहुँदा नेपाल प्रहरीमा फेरि डीआईजीबाटै आईजीमा बढुवा गरिने भएको छ । यसअघि दुईपटक एआईजीको अनुभव नभई २ जनालाई आईजीपी बनाउँदा समस्या देखिएको जनाउँदै फेरि पनि उही प्रक्रिया दोहोरिँदा संगठन कमजोर हुने सम्भावना उत्तिकै रहन्छ ।

उसो त आईजीपी खनाल पनि डीआईजीबाट सीधै प्रहरीको नेतृत्वमा आएका हुन् । त्यसअघिका प्रकाश अर्याल एआईजी नभई डीआईजीबाट आईजीपी भएका हुन् । यसरी एआईजीको अनुभव नै नभई प्रहरी नेतृत्व सम्हाल्दा संगठनमा नकारात्मक असर देखिनु स्वभाविक हो ।

जे-होस् विवादै-विवादको भूमरीमा फसेका आईजीपी खनालको बिदाइसँगै सम्पूर्ण प्रहरी संगठनले पनि सन्तोषको स्वास फेर्ने वरिष्ठ अधिकारीहरु नै बताउँछन् ।

यसरी चयन गर्छ हुन्छन् आईजीपी

प्रहरी नियमावलीको परिच्छेद ४ को बढुवासम्बनधी व्यवस्थाको दफा ४१ मा उल्लेख भएअनुसार प्रहरी महानिरीक्षक अर्थात आईजीपी चयन हुने व्यवस्था छ ।

जसमा उल्लेख भएअनुसार, ‘प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकमध्येबाट र उनीहरू नभएको अवस्थामा प्रहरी नायब महानिरीक्षकमध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व बहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’

यद्यपी नियमावलीको अन्तमा यो पनि उल्लेख छ ‘नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।’ ८ डीआइजीमध्ये जो कोहीलाई सरकारले आईजीपी बनाउनसक्ने अवस्था रहन्छ । तर सरकारका लागि ज्ञवाली नै उपयुक्त पात्र रहेको बुझिएको छ ।

यो पनि पढ्नुहोस् ।

सर्वेन्द्र खनाल आईजीपीमा बढुवा भएलगत्तै रमेश खरेलद्वारा राजीनामाको घोषणा

लोकमानको लयमा प्रहरी प्रमुख सर्वेन्द्र खनाल

कञ्चनपुरका निलम्बित एसपी बिष्ट जेल जान पनि सक्छन्: आईजीपी खनाल


आईजीपी खनालको अर्को विदेश भ्रमण पनि सरकारले रोक्यो, चीन भ्रमण रोकिनुको यस्तो छ कारण


कलिला खुट्टामा जब प्रहरीको लाठी बर्सियो… (फोटो फिचर)

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार ०७:५४