७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

१२ स्थानीय तह भएको नुवाकोटकामा १२ जनप्रतिनिधि ठेकेदार (सूचीसहित)


-प्रतिमा ढुंगाना

२४ फागुन, नुवाकोट । राजनीति पेशा र व्यवसाय बन्दै जाँदा जनप्रितिनिधिको रूपमा निर्माण व्यवसायी (ठेकेदार)को संख्या पनि बढ्दो छ । नुवाकोट पनि ठेकेदारलाई जनप्रतिनिधि बनाउनेमा अग्रस्थानमै देखिएको छ । १२ वटा स्थानीय तह भएको नुवाकोटमा १२ जना जनप्रतिनिधि नै ठेकेदार रहेको पाइएको छ ।

नुवाकोटमा गत चुनावमा विजयी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका नेताहरू जनप्रतिनिधि र ठेकेदार दुबैको भूमिकामा रहेका छन । उनीहरूको मुख्य ध्ये कहाँबाट कसरी ठेक्का हात पार्ने र पैसा कमाउने भन्ने रहेको छ । नगरपालिकाका मेयरदेखि गाउँपालिकाका वडा सदस्य समेत ठेकेदार रहेको देखिएको छ ।

विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित, पण्डित निर्माण सेवाका सञ्चालक हुन । उनी नेकपा नुवाकोटको सचिवालय सदस्य हुन । पण्डित तत्कालीन नेकपा एमालेबाट विदुर नगरपालिकाको मेयरमा विजयी भएका थिए । त्यस्तै अर्का ठेकेदार जनप्रतिनिधि लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ हुन । उनी नेपाली कांग्रेस नुवाकोटका सदस्य पनि हुन । श्रेष्ठको गुलीभर कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ ।

यस्तै नेपाली कांग्रेसकै नेता योविन्द्रसिंह तामाङ पनि ठेकेदारी पेशमा रहेका छन । उनी दुप्चेश्वर गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तर्फबाट विजयी भएका थिए । तामाङको याङरिला कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ । त्यस्तै नेकपाका नेता समेत रहेका तेजबहादुर तामाङ पनि ठेकेदारी पेशामा रहेका छन । उनी पञ्चकन्या गाउँपालिकाका अध्यक्ष हुन । उनको टी एन्ड बी कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ ।

त्यस्तै म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ पनि ठेकेदार जनप्रतिनिधि हुन । उनी पनि नेपाली कांग्रेसका नेता हुन । उनको सामरी कन्स्ट्रक्सन सञ्चालनमा रहेको छ । यस्तै जनप्रतिनिधि ठेकेदार रहेकोमा विदुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष फैसिङ तामाङ रहेका छन । उनी नेपाली कांग्रेसका जिल्ला सदस्य हुन । उनको दयाज्योति निर्माण सेवा सञ्चालनमा रहेको छ ।

यस्तै विदुर नगरपालिका वडा ९ का अध्यक्ष सनी चित्रकार पनि ठेकेदार हुन । उनको चुलन निर्माण सेवा सञ्चालनमा छ । उनी नेकपाका नेता हुन । त्यस्तै दुप्चेश्वर गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष ध्रुवकर केसी पनि ठेकेदर हुन । उनी कांग्रेसका नेता हुन । उनको ओमकार विल्डर्स सञ्चालनमा छ । कांग्रेसकै नेता समेत रहेका म्यागङ गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष कमलबहादुर तामाङ पनि ठेकेदारसहितका जनप्रतिनिधि हुन । उनको किम्ताङ निर्माण सेवा सञ्चालनमा रहेको छ ।

म्यागङ गाउँपालिकाकै अर्का जनप्रतिनिधि पनि ठेकेदारी पेशमा रहेका छन । वडा नम्बर ३ का अध्यक्ष हरिबहादुर तामाङ न्यू कामना निर्माण सेवाका सञ्चालक हुन । उनी पनि नेपाली कांग्रेसकै नेता हुन । यस्तै म्यागङकै दिलबहादुर गुरूङ पनि ठेकेदारी पेशामा रहेका छन । उनी पनि कांग्रेसका नेता हुन । शिवपुरी गाउँपालिका वडा नम्बर ७ का वीरबहादुर गुरूङ पनि ठेकेदार हुन । उनको कालिका निर्माण सेवा सञ्चालनमा रहेको छ । उनी पनि नेपाली कांग्रेसका नेता हुन ।

राजनीति मुख्यत समाजसेवाको एउटा दरिलो माध्यम हो । तर पछिल्लो समय नेपालका सबै राजनीतिक पार्टी ठेकेदार, दलाल वा यस्तैयस्तै व्यक्तिको इशारामा चल्छन । चुनाव खर्चिलो बन्दै जाँदा यस्ता व्यक्तिहरूको भूमिका पार्टी भित्र पनि बढेको छ । चुनावमा खर्च गर्ने करोडौँ रकेम ठेकेदार र विचौलियाहरूले नै जम्मा गराउने हुँदा पछि त्यो पैसा उठाउनका निम्ति काम गर्ने गरेका छन । यो एउटा संस्कृति नै बन्ने अवस्थामा पुगिसकेको छ । यसका निम्ति नागरिक खबरदारी आवश्यक छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७६, शनिबार ०७:५२