१३ बैशाख २०८१, बिहीबार | Thu Apr 25 2024

नेपाल–भारतका हिमश्रृङ्खला हेर्ने स्थल ओझेलमा


२६ माघ, बैतडी घनघस्याको उकालो र नेपाल–भारतका हिमशृङ्खला एकैपटक हेर्न सकिने बैतडीको गणेशधुराले चर्चा नपाउँदा ओझेलमा परेको छ । गणेशधुराबाट बझाङको जेठी बहुरानी हिमाल, दार्चुलाको अपि नाम्पा र भारतको उत्तराखण्ड राज्यको पञ्चचुली हिमाल गणेशधुराबाट एकैपटक नियाल्न सकिन्छ ।

बैतडीको पाटन नगरपालिका १, डैसीली गाउँमाथि रहेको गणेशधुरा समुद्री सतहबाट २९ सय मिटर उचाइमा रहेको छ । यो धुराबाट डडेल्धुरा सदरमुकाम पनि सजिलै हेर्न सकिन्छ ।

दशरथचन्द मार्गको अनार खोलीबाट १३ किलोमिटर सडक यात्रा पार गरेर पाटन नगरपालिका १ डैसीली गाउँ पुगिन्छ । डैसीलीबाट गणेशधुरा जान ढुंगाका पुराना सिँढी रहेका छन् । करिब दुई किलोमिटरसम्म रहेको ढुङ्गाका सिँढी संरक्षण नहुँदा भत्किएको खबर गोरखापत्र दैनिकमा छ ।

साउने सङ्क्रान्तिमा यहाँ पूजा लाग्ने गरेको स्थानीय दलसिंह ठगुन्नाले बताए । ऐतिहासिक धार्मिक स्थलका रूपमा गणेशधुराको पूजा गर्ने चलन रहे पनि यसको संरक्षण र प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको स्थानीय युवा तर्कसिंह ठगुन्ना बताउछन् ।

पाटन नगरपालिका १ डैसीलीका स्थानीयले गणेशधुराबारे अहिलेसम्म कसैले पनि सोधखोज नगरेको बताएका छन् । पाटन नगरपालिका १ का वडा सदस्य शेरसिंह बोहराले भ्रमण वर्ष २०२० मा बैतडीका अधिकांश पर्यटकीय क्षेत्रबारे प्रचार भए पनि गणेशधुराबारे कसैले पनि ध्यान नपुर्‍याएको बताए ।

प्रकाशित मिति : २६ माघ २०७६, आईतवार ०७:२०