८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

बन्द रहेका विमानस्थल सञ्चालनमा ल्याउने सरकारको नीतिः मन्त्री भट्टराई


२५ माघ, भीमदत्तनगर । संस्कृित, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मुलुकमा बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालनमा ल्याउन सरकारअघि बढेको बताउनुभएको छ ।

भीमदत्तनगरपालिका कार्यालयले आज यहाँ आयोजना गरेको ‘कञ्चनपुर विमानस्थल पुनःसञ्चालन’ सम्बन्धी छलफल कार्यक्रममा उहाँले सरकारले नयाँ विमानस्थल स्थापना गर्नुभन्दा पनि बन्द अवस्थामा रहेका विमानस्थल पुनःसञ्चालन गर्ने नीति लिएको जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले सरकारले विमानस्थल सञ्चालनमा ठूलो लगानी गरेको भन्दै लगानीअनुसार राज्यलाई पनि प्रतिफल आउनुपर्नेमा जोड दिनुभयो । “तीनवटै तहको सरकारले साझदारी गरेर विमानस्थल पुनःनिर्माण गरी सञ्चालमा ल्याऔँ”, उहाँले भन्नुभयो, “त्यसको व्यावसायिक फाइदा पनि बाडँफाँड गर्ने नीतिमा हामी जान सक्छौँ ।”

उहाँले विमानस्थल सञ्चालनमा आउँदा समुदाय र स्थानीय तहलाई फाइदा पुग्ने भएकाले पुनःसञ्चालनमा तीन तहकै सरकारको भूमिका आवश्यक रहेको बताउनुभयो । मन्त्री भट्टराईले विमानस्थल आत्मनिर्भर हुनुपर्ने भन्दै समयक्रमअनुसार विमानस्थल अन्तरराष्ट्रिय मापदण्डअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यसैगरी मन्त्री भट्टराईले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउने पनि बताउनुभयो । “विमानस्थलसित ६० बिघा जग्गा रहेछ”, उहाँले भन्नुभयो, “आवश्यक जमिन थप गर्ने प्रक्रिया अगाडि बढाउने छौँ ।” पश्चिमका लागि मझगाउँ विमानस्थल महत्वपूर्ण रहेको भन्दै उहाँले पुनः सञ्चालनका लागि यहाँका जनप्रतिनिधिहरु उत्सुक्ताका साथ सक्रिय रहेको जानकारी दिनुभयो ।

सो अवसरमा प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्टले मझगाउँ विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक रहेको भन्दै सुदूरपश्चिम भ्रमणका लागि आउने विदेशी पर्यटकको हवाई भाडा घटाउनुपर्ने माग गर्नुभयो । “डेढ लाख जनसङ्ख्या भएको ठाउँमा विमानस्थल सञ्चालन हुन्छ, यहाँ त झन छ लाख जनसङ्ख्या छ”, उहाँले भन्नुभयो, “स्थानीय तह र प्रदेश सरकार पनि पुनःसञ्चालनका लागि सकारात्मक रुपमा लागेका छन ।”

प्रतिनिधिसभा सदस्य नरबहादुर धामीले पटक÷पटक मझगाउँ विमानस्थल सञ्चालनका निम्ति आफूले संसद्मा कुरा उठाएको बताउनुभयो । “संसारकै ठूलो झुण्डो भएको बाह्रसिङ्गादेखि एशियाकै लामो झोलुङ्गे पुलसम्म हामीसित छन्”, उहाँले भन्नुभयो, “यहाँ आउने विदेशी पर्यटकलाई महङ्गो भाडा लगाएर सुदूरपश्चिम भ्रमणमा आउन किन रोकेको ? ।”

नागरिक उड्डन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भीमदत्तनगर नाका महत्वपूर्ण रहेको भन्दै मझगाउँ विमानस्थल सञ्चालनका लागि दुई बिघा जमिन थप गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

“विसं २०३० मा मझगाउँ विमानस्थल सञ्चालनमा आएको थियो”, उहाँले भन्नुभयो, “भीमदत्तनगरलाई काठमाडौँसित जोड्ने रणनीतिक महत्व छ ।” जग्गा अधिग्रहणका लागि तीनवटै सरकारको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । विसं २०५६ मा असुरक्षाका कारण देखाउँदै उक्त विमानस्थल बन्द भएको थियो ।
–––

प्रकाशित मिति : २५ माघ २०७६, शनिबार १६:०७