१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

नागरिकको सुरक्षाप्रति प्रधानमन्त्रीको चासो: कोरोनाबाट नेपाली जनता ‘डराउनुपर्दैन’


२४ माघ, काठमाडौं । सातायता मूल्यवृद्धिसँगै आएको शब्द हो- ‘कोरोना भाइरस’ । झन्डै माघको सुरुवातसँगै चीनमा देखापरेको कोरोना भाइरसले अहिले नेपालमा पनि आतंक फैलाइरहेको अवस्था छ । यसको मतलब कोरोना संक्रमण भएर भने होइन् । खासमा यो नामबाटै नेपाली आतंकित भएका छन् । नेपालको राज्य संयन्त्र नै यसमा जुटेको अवस्था छ । अरु विषय लगभग गौणको अवस्थामा पुगेका छन् ।

राज्यले आश्वासन दिइरहेको छ । जनता मान्न तयार छैनन् । राज्य भन्छ- ‘डराउनुपर्दैन’, जनता भन्छन्- ‘कोरोनाको महामारी नफैलियोस्’ । खासमा नेपालमा कोरोना संक्रमण फैलिएको अवस्था भने होइन । अहिलेसम्मको अवस्थामा यो भाइरसबाट नेपाल प्रभावित नभए पनि सुरक्षा अपनाउनुपर्ने भने जरुरी देखिन्छ । तर, चीन-नेपाल जोडिएको सीमा । चीनमा थुप्रै नेपाली विद्यार्थी अध्ययन गर्ने भएको हुँदा पनि उनीहरुमा संक्रमण होला भन्ने त्रासमा यता नेपालीहरु रहेको बुझ्न सकिन्छ ।

आधिकारिक रुपमै त चीनमा रहेका नेपालीमा कोरोना संक्रमण भएको खबर त छैन । यद्यपि हेलचेक्र्याइँ गर्न भने वाञ्छनीय देखिँदैन । तसर्थ हामीले भुल्नै नहुने कुरो भने कोरोनाबाट सबै सुरक्षित हुनुपर्छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको वुहान प्रान्तमा रहेका नेपाली विद्यार्थी र नागरिकलाई चार स्थानमा राख्न निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, मुख्यसचिव लोकदर्शन रेग्मी र सम्बद्घ मन्त्रालयका सचिव, सुरक्षा अधिकारीलाई बोलाएर ओलीले नेपाली नागरिकको सुरक्षाप्रति चासो देखाएका हुन् ।

प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा रहेका क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न निर्देशन दिएका हुन् । चीनबाट आएका नेपालीहरुलाई १४ दिनसम्म अलग–अलग रुपमा ती ठाउँहरुमा राखिने सरकारको तयारी छ ।

यस्तै प्रधानमन्त्री ओलीले चीनबाट ल्याउनुपर्ने विद्यार्थी एवं नागरिकलाई यहाँ ल्याई गरिने उपचार तथा क्वारेन्टाइन अवधिको तयारीमा अविलम्ब जुट्न र सम्पूर्ण कार्य योजनाबद्धरूपमा सम्पन्न गर्न निर्देशन दिएका हुन् । यसबाट पनि सरकार कोरोना भइरसको संक्रमण नेपालमा नहोस् भन्नेमा सजग भएको पाउन सक्छौं ।

उसो त चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि त्यहाँ रहेका १८० नेपाली विद्यार्थीले स्वदेश फर्किन त्यहाँ रहेको नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । उनीहरुलाई तत्काल नेपाल फर्काउन भइरहेको पहललाई सकारात्मक मान्न सकिन्छ ।

यता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पनि चीनमा रहेका विद्यार्थीलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको जनाएका छन् । उनले विश्व नै कोरोना भइरसप्रति संवेदनशील भइरहेको अवस्थामा नेपाल सरकार पनि यसबारे सचेत र संवेदनशील रहेको आश्वासन दिएका छन् । मन्त्री बास्कोटाले कोरोनाबाट प्रभावितका लागि ३ सय शय्याको अस्पताल सरकारले बनाउन थालेको पनि बताएका छन् ।

तर, चीनमा रहेका नेपालीका अभिभावकहरु भने आफ्ना छोराछोरीलाई चाँडो उद्धार गरी फिर्ता ल्याउन माग गरेका छन् । हिजो मात्र स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई भेटेर आफ्ना छोराछोरालाई उद्धार गरी फिर्ता ल्याइदिन भन्दै ७ बुँदे माग पनि बुझाएका छन् । ज्ञापनपत्र बुझाउनुअघि उनीहरुले मन्त्रालयमै केहीबेर धर्ना दिएका थिए । राज्यमन्त्री रावतले पनि यसतर्फ सरकार संवेदनशील भएर लागिरहेको र चीनमा रहेका सबै नेपालीलाई फर्काउने तयारी भइरहेको भन्दै आश्वासन दिएका थिए ।

यता नोबल कोरोना भाइरसको संक्रमण बढेसँगै नेपाली बजारमा मास्क अभाव देखिएको छ । तर, नेपाली व्यवसायीहरु भने मास्क अभाव नहुने बताउँछन् । सरकारले माक्स उत्पादनको निर्देशन दिए २ दिनमै चाहिएजति उत्पादन गर्न सकिने व्यवसायीहरुको दाबी छ ।

अहिले नेपाल घरेलु तथा साना उद्योग महासंघ आबद्ध करिब दुई दर्जन मास्क उद्योग सञ्चालनमा छन् । उनीहरुले बजारको मागअनुसार ७ प्रकारको मास्क उत्पादन गरिरहेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहको भनाइ छ ।

उसो त चीनमा कोरोना भाइरसकै कारण ५३० जनाको मृत्यु भइसकेको छ भने २८ हजारभन्दा बढीमा संक्रमण फैलिएको छ । अब राज्यबाट यावत् तयारी भइरहेको अवस्थामा आमनेपालीले सरकारको विश्वास गर्नै पर्ने देखिन्छ । नकि सरकारको विरोध गरे यसबाट मुक्ति पाइन्छ ।

प्रधानमन्त्री ओलीद्वारा चीनबाट ल्याइएका विद्यार्थीलाई ४ ठाउँमा राख्न निर्देशन

प्रकाशित मिति : २४ माघ २०७६, शुक्रबार ०८:१९