१३ बैशाख २०८१, बिहीबार | Fri Apr 26 2024

टिप्पणी: लसुन र कुखुराको मासु नखाए हुन्न र ?


२२ माघ, काठमाडौं नेपाली समाजमा बेला-बेला केही न केही को आतंक छाइरहेकै हुन्छ । जुन सोचिएकै हुँदैन, फ्याट्टै आइलाग्छ । झन्डै ३ महिनाअघि प्याजको आतंकले सबैलाई त्राहिमाम बनायो । ३० देखि ३५ रुपैयाँ प्रतिकिलोमा पाइने प्याज उपभोक्ताका भान्सामा एकाएक २५० देखि ३५० रुपैयाँ प्रतिकिलोका हिसाबले भित्रियो । एकाएक प्याजको भाउ बढ्यो । नेपाली उपभोक्ताबीच आतंक छायो । प्याजको आतंक ।

सक्नेले किने । किन्नेले उपभोग गरे । तर अधिकांशले भान्सामा प्याज नै भित्र्याउन बन्देज लगाए । लसुन-प्याज नखानेलाई त केही न केही । तर प्याज पारखीलाई आतंकै सिर्जना भो ।

अहिले २/३ दिनयता प्याजको भाउ मत्थर हुँदै छ । १४० रुपैयाँ प्रतिकिलोमा प्याजको कारोबार भइरहे पनि यसको चर्चा ह्वात्तै घटेको छ । शनिबार साँझ ग्यास सिलिन्डरमा नेपाल आयल निगमले २५ रुपैयाँका दरले भाउ बढाउँदा पनि खासै चर्चा चलेन ।

अहिले त नेपाली उपभोक्तामाझ लसुन र कुखुराको मासुको आतंकै छाएको छ । लसुन र कुखुराको मासु नखानेलाई हर्ष न विस्मात । तर मासु र लसुनका पारखीलाई भने इन्तु न चिन्तु बनाएको छ । नेपाली उपभोक्ताले पनि भन्ने गरेका छन्- सुन, लसुन, मासु र प्याजको मूल्य वृद्धिले कीर्तिमान कायम गरेको छ । तर प्याज र सुन भन्दा पनि अहिले लसुनले आतंक मच्चाएको गृहणीहरुको गुनगुन सुन्न सकिन्छ ।

आखिर किन लसुनले आफ्नो भाउमा किर्तिमान राख्यो ? प्याज नखाए झैं लसुन र कुखुराको मासु नखाए हुन्न र ? सुन नकिनेरै त चलेको छ भने लसुनलाई भान्सामा नभित्र्याउँदा खान्की नमिठो हुने हो र ? तर, हामी अरुके पछि दौडिरहेका छौं । देखासिकी गरिरहेका छौं । सरकारलाई सरापी रहेका छौं । कोरोना भाइरसलाई दोषी बनाइरहेका छौं ।

हामी आफैं पो दोषी भएको त होइन कतै ? उत्पादन नगर्ने, आयातमै निर्भर हुने हामी अब्बल उपभोक्ता कि परनिर्भर ? सोचनीय कुरोलाई मनन् गरी केही महिना लसुन र कुखुराको मासु नखाए कहाँ बिक्छ हेरौं । व्यवसायीको मोनोपोली स्वाट्टै घटाउन उपभोक्ताले ती सामग्री उपभोग नगरे हुँदै न र ?

नेपाली बजारमा कायमै रहेको मूल्य एकाएक दुई गुणाले बढ्दा उपभोक्ता उत्तेजित हुनु स्वभाविकै हो । हुन त लसुन र कुखुराको मासुको भाउ बढ्नुमा चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई दोष लगाइएको छ । यता व्यापारीहरुको मनोभावना बुझ्न उपभोक्ताहरुले सकेका छैनन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले नेपाली बजारमा लसुनको खुद्रा मूल्य साढे ६ सय र थोक मूल्य साढे ५ सय रुपैयाँ प्रतिकिलो कायम छ । यसरी बेला-न कुबेला, कुनै निहुँ नै नभइ दैनिक उपभोग्य वस्तुमा मूल्य आकासिनु रहस्यमय त छ नै जसकारण उपभोक्ताहरु प्रत्यक्ष मारमा परेको अवस्था छ । यसको नियन्त्रण राज्यबाटै नगरे व्यापारीहरुले मनलाग्दी भाउ बढाउने संकेत देखिएको हो ।

तर, भाउ बढेसँगै उपभोक्ताले माग घटाउनुपर्ने अर्थशास्त्रको नियम भए पनि भाउ बढेसँगै बजारमा माग पनि बढेको छ । साता दिनअघि २६० रुपैयाँ प्रतिकिलो पाइने ब्रोइलर कुखुराको मासु अहिले ४ सयदेखि ४ सय ५० रुपैयाँ पुगेको अवस्था छ ।

उसो त कोरोना भाइरसकै कारण चीनसँगको व्यापारिक नाका बन्द भएपछि लसुनको आपूर्ति घटेको र मूल्य बढेको व्यवसायीहरुले बताइरहँदा एकाएक ब्रोइलर कुखुराको मासुको भाउ बढ्नुलाई रहस्यमय मान्न सकिन्छ । अझ कुखुराको मासुमा नेपाल आत्मनिर्भर हुँदा-हुँदै पनि उपभोक्ताको ढाडै सेक्ने गरी भाउ बढ्नुलाई के मान्ने ? यो सोचनीय छ ।

उपभोक्ताहरुले बजारमा कालोबजारी गर्नेको चलखेल बढेसँगै लसुन र कुखुराको मासुमा मूल्य बढेको बताइरहँदा अब यसलाई उपभोग नै नगर्ने नीति अख्तियार गर्दा व्यवसायीहरुको मनोमानी घट्थ्यो कि ?

यता कुखुरापालक किसानहरुले केही समय चल्ला मार्ने काम नियोजित रुपमा गरेको र त्यही घाटा भएको मूल्य असुलीकै लागि एकाएक कुखुराको मासुको भाउ बढाएको हुन सक्ने उपभोक्ताहरुको बुझाइ छ । कालोबजारीका माफियाहरुलाई कारबाही नगरेसम्म उपभोक्ताहरुले सास्ती खेपिरहनुपर्ने पक्का छ । तसर्थ अब हामी (उपभोक्ता) ले सोच्ने बेला आएको छ । यसरी मनलाग्दी बढेको कुखुराको मासु र लसुन नखाए हुन्छ र ?

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार ०७:५६