८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

सगरमाथासहित ६ हिमाल सफा गरिँदै


२१ माघ, काठमाडौं नेपालका ६ हिमाल एकैपटक सफा गरिने भएको छ । अत्यधिक पर्यटकको आकर्षणमा रहेका विश्वको सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, मकालु, धवलागिरि, पुमोरी र आमादब्लम हिमाल एकैपटक सफा गरिन लागिएको हो ।

नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’को अवसर पारेर हिमाल सफाइ गर्न लागेको हो । करिब आठ करोड ५९ लाख ९३ हजार रुपैयाँमा हिमालको सफाइ गरिने खबर गोरखापत्र दैनिकमा छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले नेपालका हिमाल स्वच्छ र सफा छन् भन्ने सन्देश दिन ६ मुख्य हिमाल एकैपटक सफा गरिन लागेको बताए ।

यसअघि नेपालका हिमालमा फोहोर र प्रदूषण बढेको टिप्पणी विदेशमा भइरहेको थियो । बढी पर्यटक चढ्ने हिमालमा फोहोर व्यवस्थापनको अभाव रहँदा हिमालले फोहोरको भार खेप्दै आउनु परेको छ, जसका कारण हिमाली पर्यावरणमा गम्भीर असर परेको विज्ञहरू बताउँछन् । हिमाल र हिउँको संरक्षणसँगै वातावरण संरक्षण गर्न हिमाल सरसफाइ गर्न लागिएको वातावरण विभागले जनाएको छ । पहिले सरसफाइको जिम्मा वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको वातावरण विभागलाई दिइएको थियो तर हालै मात्र परिवर्तन गरी हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको छ ।

प्रवक्ता जोशीले जनशक्ति लगायतका पूर्वाधारको अभावका कारण हिमाल सरसफाइको जिम्मा नेपाली सेनालाई दिइएको जानकारी दिए । वातावरण विभागले भने सहयोगी निकायको भूमिका निर्वाह गर्नेछ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले भने, “तीन चरणमा सरसफाइको काम पूर्ण गर्ने योजना बनाएका छौँ । हिमाल सफा हुनु भनेको देशकै सरसफाइ हुनुजस्तै हो । हामी सबैसँगको सहकार्यमा अग्रसर छौँ ।”

योजनाअनुसार सगरमाथा, ल्होत्से र पुमरी हिमालको बेसक्याम्पमाथि १० हजार किलो र बेसक्याम्प तल आसपासबाट थप २० हजार किलो गरी कुल ३० हजार किलो फोहोर सङ्कलन गरिनेछ । मकालु हिमालको बेसक्याम्पमाथि दुई हजार किलो र बेसक्याम्प तलबाट तीन हजार किलो गरी पाँच हजार किलो फोहोर सङ्कलन हुने अनुमान छ ।

प्रकाशित मिति : २१ माघ २०७६, मंगलवार ०६:३४