८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

१९ माघ, चितवन । दुर्लभ एक सिङ्गे गैँडा, पाटे बाघ, घडीयाल गोहीका लागि ख्याति कमाएको चितवन राष्ट्रिय निकुञ्ज केही समययता अर्नाले समेत पर्यटक आकर्षित गर्न थालेको छ । निकुञ्जमा तीन वर्ष अगाडि भित्र्याइएका अर्नाले पाडापाडी जन्माउन थालेपछि अर्नाले समेत पर्यटक आकर्षित गर्न थालेको हो ।

कोसी टप्पु आरक्षण र सदर चिडियाखानाबाट ल्याइएका अर्नालाई निकुञ्जको पदमपुर क्षेत्रमा ३० हेक्टरमा  बारबन्देजभित्र राखिएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार केही समययता अर्ना निकुञ्जको नयाँ प्रोडक्ट जस्तै बनेको छ । यसले पनि बाघ, गैँडा, घडीयाल, गौरीगाई जस्तै पर्यटकलाई आकर्षित गर्न थालेको छ । अर्नाको अवलोकन गर्न विदेशी पर्यटक पैदल (जङ्गल वाकिङ)मार्फत जाने गरेका छन् । वर्षाले पदमपुर क्षेत्रमा जाने घोलको कल्भर्ट बगाएका कारण गाडीबाट जाने मार्ग अवरोध भएको खबर गोरखापत्र दैनिकमा छ । उनले उक्त मार्ग एक-डेढ महिनामा तयार हुने बताए ।

निकुञ्ज घोषणापूर्व अर्नाको बाक्लै उपस्थिति रहेको चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो समय अर्ना थिएनन् । त्यसैले २०७३ माघमा कोसी टप्पुबाट १२ र सदर चिडियाखानाबाट तीन गरी १५ अर्ना ल्याएर पदमपुर क्षेत्रमा ३० हेक्टर तारबार क्षेत्रभित्र राखिएको थियो । सुरुआतको समयमा केही अर्ना कालगतिले मरेका थिए भने केही बाघको आक्रमणमा परेको र केहीलाई बाढीले बगाएर नौवटाको सङ्ख्यामा झरेको थियो तर पछिल्लो समयमा अर्नाको सङ्ख्यामा वृद्धि भएको छ ।

हाल तीन बच्चासहित १२ अर्ना छन् भने केही गर्भिणी भएको अनुमान गरिएको छ । अर्नाको सङ्ख्या वृद्धिले निकुञ्ज अधिकारीहरूमा आशा जगाएको छ । प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अर्नाको सङ्ख्यामा आएको वृद्धिले उत्साहित बनाएको स्वीकार गर्दै अर्ना संरक्षणको कार्य सफल भएको बताए । उनले संरक्षण कार्य सफल भएकाले अर्ना संरक्षणका लागि बनाइएको संरचनाको क्षेत्रफल वृद्धि गर्न बाटो खुलेको बताए ।

निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेले यसै महिनादेखि विस्तारको काम सुरु गरी ३० हेक्टरलाई ४५ हेक्टर पुर्‍याइने जानकारी दिए ।

चितवन निकुञ्जमा ६९ प्रजातिका स्तनधारी, ५७६ प्रजातिका चरा, १२० प्रजातिका माछा, १५० प्रजातिका पुतली, उभयचर र सरीसृप गरी ४९ प्रजाति र ५७० भन्दा बढी प्रजातिका वनस्पति पाइन्छन् । २०३० सालमा घोषणा भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो

प्रकाशित मिति : १९ माघ २०७६, आईतवार ०७:३१