१५ चैत्र २०८०, बिहीबार | Thu Mar 28 2024

देउवाको गृह जिल्लामा नेकपाका नेता निर्घात कुटिए, ज्ञानेन्द्र जोशीको दुबै हात र खुट्टा भाँचियो


१९ माघ, काठमाडाैँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एक स्थानीय नेता निर्घात कुटिएका छन । जिल्लाको आलिताल गाउँपालिका कमिटी अध्यक्ष ज्ञानेन्द्र जोशीलाई अज्ञात समूहले अपहरण गरी निर्घात कुटपिट गरेको हो । शुक्रबार उनलाई अज्ञात समूहले अपहरण गरी कुटपिट गरेको बुझिएको छ ।

आलिताल गाउँपालिका–३ को वडा बैठकमा सहभागी हुनका लागि बैठकस्थलतर्फ जाने क्रममा उहाँलाई अपहरण गरी कुटपिट गरेको नेकपा जिल्ला कमिटी डडेल्धुराले विज्ञप्तिमार्फत जनाएको छ । आलितालभन्दा करीब ५०० मिटरमाथि चौरवण्डले भन्ने स्थानमा मुखुण्डोधारी समूहले जोशीमाथि कुटपिट गरी गम्भीर घाइते बनाएको नेकपा जिल्ला कमिटी सचिव वीरेन्द्रकुमार बस्नेतले विज्ञप्तिमार्फत जानकारी दिएका छन ।

आलिताल प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कमलप्रसाद जोशीको नेतृत्वमा खोजतलास गर्दा निर्घात कुटपिट गरी अलपत्र अवस्थामा भेट्टिएको बताइएको छ । अज्ञात समूहको कुटपिटबाट जोशी गम्भीर घाइते भएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरी सहायक निरीक्षक जोशीले जानकारी दिनुभयो ।

जोशीको खुट्टा भाँच्चिएको छ भने टाउको र हातमा गम्भीर चोट लागेको छ । जोशीसँगै मोटरसाइकमा सवार नेकपा आलिताल गाउँपालिका कमिटी सदस्य चित्रा बोहरा भागेर अपहरण र कुटपिटबाट जोगिएको बताइएको छ । नेकपा डडेल्धुराले यस्ता घृणित क्रियाकलापमा संलनलाई यथाशीघ्र खोजी कानूनबमोजिम हदैसम्म कारवाहीको मागसमेत गरेको छ ।

अध्यक्ष जोशीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । अज्ञात समूहको कुटपिटबाट गम्भीर घाइते हुनुभएका उहाँलाई उपचारका लागि धनगढी सिफारिश गरिएको थियो । धनगढीमा पनि उपचार सम्भव नभएपछि उहाँलाई काठमाडौँ लगिएको नेकपा डडेल्धुराले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०७६, शनिबार २२:१०